
कैलालीको अत्तरिया स्थित सृजनशील युवा क्लब (CYC) द्वारा आयोजित लिग क्रिकेट प्रतियोगितामा CYC मछेली खोला टिमले उपाधि जितेको छ। माघ १२ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेलमा मछेली खोलाले भल्का धाम टिमलाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।

पहिला ब्याटिङ गरेको मछेली खोलाले निर्धारित ओभरमा २०६ रन बनाएको थियो। टिमका मोहन ठगुन्नाले ६१, सन्दिप बिष्टले ४४, र नकुल तामाङले ३० रन बनाए। बलिङतर्फ भल्का धामका किसन भाट, भोज मल्ल, कृष भण्डारी, गणेश जोशी र कमल कडायतले समान १–१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको भल्का धाम ७९ रनमै अलआउट भएको थियो। मछेली खोला टिमले सहज जीत निकाल्यो। प्रतियोगितामा कुल ८ टिम सहभागी थिए।


आयोजक क्लबका अनुसार लिग अन्तर्गत भोलिदेखि भलिबल प्रतियोगिता सुरु हुने छ। यस प्रतियोगिताले स्थानीय युवामा खेलप्रतिको आकर्षण बढाउने मात्र नभई प्रतिभा पहिचानमा पनि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। खेलमा सहभागिता, उत्साह र प्रतिस्पर्धाले अत्तरिया क्षेत्रमा खेलकुदको वातावरण सजीव बनाएको देखिएको छ।
मछेली खोला टिमका खेलाडी र टोली व्यवस्थापनको उत्कृष्ट प्रदर्शनले उपाधि सहज बनाएको बताइएको छ।
































