
कैलालीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्रको संरक्षणका लागि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर २ ले लम्कीमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले वर्तमान राजनीतिक अवस्थामा लोकतन्त्र विभिन्न चुनौतीको सामना गरिरहेको बताए।


लोकतन्त्रलाई मजबुत बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा रहेको उल्लेख गर्दै उनले कांग्रेसको स्पष्ट बहुमत अपरिहार्य रहेकोमा जोड दिए। मुख्यमन्त्री शाहले पार्टीभित्र देखिएका आन्तरिक मतभेदलाई अहिलेका लागि थाती राखेर एकताबद्ध हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे।

उनले सबै तहका नेता–कार्यकर्तालाई एकजुट भएर नेपाली कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन आह्वान गरे। साथै, फागुन २१ गते हुन लागेको निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको पनि मुख्यमन्त्री शाहले स्पष्ट पारे।

































