
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विघटित संसद् पुनःस्थापना नहुने स्पष्ट गर्दै तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन्। नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नं. २ को आयोजनामा विर्तामोडमा सम्पन्न कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ गते हुने चुनावमा पार्टी पूर्णशक्तिका साथ होमिनुपर्ने बताए।

उनले अदालती सुनुवाइ प्रक्रिया लामो हुने भएकाले संसद् पुनःस्थापनाको सम्भावना नरहेको उल्लेख गर्दै लोकतान्त्रिक निकास निर्वाचन नै भएको दाबी गरे। “फागुन २१ मै चुनाव हुन्छ, यसमा कुनै द्विविधा छैन,” उनले भने।

उपसभापति शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएसँगै कांग्रेस नयाँ ऊर्जा र सोचसहित अघि बढेको बताए। युवालाई नेतृत्वमा ल्याएर पार्टीलाई नवीन बनाइएको उल्लेख गर्दै अब देशको मुहार फेर्ने अभियान सुरु भएको उनको भनाइ थियो।

उनले फागुन १ देखि २१ गतेसम्म नेता–कार्यकर्तालाई आ–आफ्नो निर्वाचन क्षेत्रमै बसेर उम्मेदवारको पक्षमा मत माग्न निर्देशन दिए। पार्टीले १०६ निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको जानकारी दिँदै जेनजी आन्दोलनपछि टुटेको जनविश्वास पुनःजोड्ने सामर्थ्य कांग्रेससँग रहेको दाबी गरे।
































