
ज्ञानेन्द्र शाही ले कर्णालीको राजनीतिक लडाइँ कुनै व्यक्तिविरुद्ध नभई कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रवक्ता शाहीले वीरेन्द्रनगर, सुर्खेतमा आयोजित आमसभालाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले यो संघर्ष उम्मेदवारसँग नभई केन्द्रमा बसेर कर्णालीलाई दासत्वको दृष्टिले हेर्ने सोचविरुद्ध रहेको स्पष्ट पारे। विगतका सरकारले कर्णालीलाई विकासको मूलधारबाट टाढा राखेको आरोप लगाउँदै शिक्षा, स्वास्थ्य, सडक, सञ्चार र रोजगारीका क्षेत्रमा क्षेत्र अझै पछाडि पारिएको बताए।
“कर्णालीका युवाहरू रोजगारीका लागि भौतारिन बाध्य छन्, किसानले उचित मूल्य पाउँदैनन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित छन्,” उनले भने, “यी समस्या व्यक्तिका होइन, प्रवृत्तिका कारण हुन्।”




शाहीले कर्णाली अब माग्ने होइन, आफ्नो अधिकार लिने चरणमा पुगेको उल्लेख गर्दै अन्याय र विभेदविरुद्ध दृढतापूर्वक उभिने बताए। कार्यक्रममा स्थानीय अगुवा, युवा, महिला तथा नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।



































