
नेपाल आयल निगम लिमिटेडले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरी बिक्री गर्ने निर्णय गरेको छ। निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा आजदेखि अर्को सूचना नआएसम्म ७.१ केजीको ग्यास प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा उपलब्ध गराइने जनाइएको छ।

निगमका अनुसार काठमाडौं उपत्यकामा पछिल्ला दुई–तीन महिनादेखि ग्यासको माग अत्यधिक रहेको छ। मध्यपूर्व क्षेत्रमा भइरहेको द्वन्द्वका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ र एलपी ग्यास आपूर्तिमा असर परेको बताइएको छ। भारतमा पनि ग्यास आपूर्ति कठिन भएपछि नेपालमा आवश्यकता भन्दा बढी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ।

प्रवक्ता मनोज ठाकुरले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गर्दै अनावश्यक भण्डारण नगर्न चेतावनी दिएका छन्। निगमले आपूर्ति प्रणाली व्यवस्थित राख्दै आम उपभोक्तालाई माग अनुसार ग्यास उपलब्ध गराउन प्रतिबद्धता जनाएको छ।






























