
महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन्। सोमबार सिंहले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सरकारी कार्यालयका प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहँदा कार्यकर्ताहरूले बाहिर नाराबाजी गरेका हुन्।

स्थानीय नेता–कार्यकर्तासँग समन्वय नगरी छलफल गरेको भन्दै उनीहरू असन्तुष्ट बनेका थिए। प्रदर्शनकारीहरूले “अमरेश सिंह मुर्दावाद” लगायतका नारा लगाएका थिए। स्थिति तनावपूर्ण बनेपछि बैठक कक्षमै प्रवेश गर्न खोजेका कार्यकर्तालाई प्रहरीले रोकेको थियो।

प्रदर्शनमा स्थानीय नेता प्रकाश पाठकलगायत कार्यकर्ताहरू सहभागी थिए। सिंह सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य हुन् भने जलेश्वर महोत्तरी–३ निर्वाचन क्षेत्रभित्र पर्छ, जहाँबाट रास्वपाका उज्वल झा निर्वाचित छन्।






























