
सरकारले अबदेखि सरकारी कर्मचारीलाई तलबभत्ता अर्धमासिक रूपमा उपलब्ध गराउने नयाँ व्यवस्था लागू गर्ने भएको छ। गत शुक्रबार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै यसबारे औपचारिक जानकारी दिएको हो।

यसअघि राष्ट्रसेवक कर्मचारीहरूले मासिक रूपमा तलबभत्ता प्राप्त गर्दै आएका थिए। तर अबदेखि तलब दुई चरणमा भुक्तानी हुने व्यवस्था लागू गरिने भएको छ।

अर्थ मन्त्रालयका अनुसार सेवाप्रवाहलाई थप प्रभावकारी, पारदर्शी र समयमै भुक्तानी सुनिश्चित गर्न यो प्रणाली ल्याइएको हो। मन्त्रालयका सहसचिव डा. सुमन दाहालका अनुसार अर्धमासिक भुक्तानी प्रणाली सुरुवात गर्ने निर्णय कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

सरकारले यो नयाँ व्यवस्था कार्यान्वयनसँगै कर्मचारीहरूको आर्थिक व्यवस्थापन सहज हुने अपेक्षा गरेको छ। साथै, सार्वजनिक वित्तीय व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने लक्ष्य लिइएको छ।





























