
सरकारले निजामती कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने पाइलट परियोजना सुरु गरेको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्प्युटराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत भुक्तानी आदेश जारी गर्दै नयाँ प्रणालीको शुभारम्भ गर्नुभयो।

कार्यक्रमपछि संघीय निजामती कर्मचारीहरूले वैशाख महिनाको पहिलो अर्धमासिक तलब प्राप्त गरेका छन्। अर्थमन्त्री वाग्लेले यो प्रणालीले बजारमा माग र उपभोग बढाई अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यो व्यवस्था सुरुमा पाइलट परियोजनाका रूपमा लागू गरिएको हो र क्रमशः सबै सरकारी कर्मचारीमा विस्तार गरिनेछ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले प्रणाली प्राविधिक रूपमा पूर्ण तयार रहेको बताउँदै प्रदेश तथा अन्य सरकारी सेवामा पनि विस्तार हुने जानकारी दिनुभयो। उहाँका अनुसार कर्मचारीले आवश्यक अनुसार १५ दिन वा एक महिनाको अवधिमा तलब लिन सक्ने व्यवस्था मिलाइएको छ।

सरकारको यो कदमले नगद प्रवाह बढाउने, साना व्यवसायलाई सहयोग पुग्ने र डिजिटल अर्थतन्त्र सुदृढ हुने अपेक्षा गरिएको छ। गत वैशाख ४ गतेको निर्णयअनुसार यो योजना कार्यान्वयनमा ल्याइएको हो।































