
आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार परियोजना आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले तोकिएको समयमै परियोजना सम्पन्न हुने दाबी गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले जिम्मा लिएका आयोजना समय, लागत र गुणस्तरअनुसार सम्पन्न गर्दै आएको उल्लेख गर्दै यो परियोजना पनि समयमै सञ्चालनमा आउने बताएका छन्। उनका अनुसार करिब ११ महिना अघि सुरु गरिएको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म करिब ३.१ किलोमिटर लामो केबलकार निर्माण भइरहेको हो। करिब पाँच अर्ब रुपैयाँ लगानी रहेको यस परियोजनामा बटम स्टेशनमा होटल, क्यासिनो, ब्याङ्क्वेट हललगायत संरचना निर्माण गरिनेछ। टप स्टेशनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल, रेष्टुरेन्ट तथा बाल उद्यानजस्ता आधुनिक पर्यटकीय पूर्वाधार विकास गरिने कम्पनीले जनाएको छ।


अध्यक्ष ढकालले पर्यटन पूर्वाधारमा लगानी विस्तार नगरी नेपालले अपेक्षित आर्थिक रूपान्तरण हासिल गर्न नसक्ने बताए। उनका अनुसार पर्यटन क्षेत्रले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, राजस्व वृद्धि र सामाजिक–आर्थिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
उनले केबलकार पर्यटन सर्किट निर्माण गर्ने दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै जालपादेवी परियोजना त्यस दिशाको महत्वपूर्ण कदम भएको बताए। स्थानीय समुदाय, राजनीतिक दल र सरकारी निकायको सहयोगलाई उनले परियोजनाको सफलताको आधारका रूपमा प्रशंसा गरे।
कर्णाली चिसापानी पुल नजिकै अवस्थित यो परियोजना भारतीय सीमाबाट करिब दुई घण्टाको दूरीमा रहेकाले भारतीय तथा आन्तरिक पर्यटकका लागि प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।































