
दार्चुलाको दुर्गम अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिने महत्वपूर्ण चरणमा पुगेको छ। खलङ्गाबाट करिब २३ कोष उत्तर–पश्चिममा रहेको गाउँपालिकाको वडा नम्बर ३ गौड्याखोलासम्म सडक पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्।

स्थानीय दीपक टमटाले गाउँपालिका केन्द्रसम्म सडक पुग्ने सम्भावना बढेसँगै जनजीवन सहज हुने विश्वास व्यक्त गरेका छन्। गाउँपालिका केन्द्र वडा नम्बर ४ को नौपाटामा रहेको छ। हाल निर्माणाधीन सडकले वडा नम्बर ३ र ४ लाई प्रत्यक्ष रूपमा जोड्नेछ।
अपिहिमालका वडा नम्बर १ र २ तत्काल सडक सञ्जालमा नजोडिए पनि काफलधारसम्म सडक विस्तार हुँदा ती क्षेत्रका बासिन्दाले समेत केही राहत पाउने अपेक्षा गरिएको छ। सडक निर्माणको काम वीएनबी कन्स्ट्रक्सन, सुर्खेतले गरिरहेको छ।


निर्माण कम्पनीका प्रतिनिधि धर्मसिंह धामीका अनुसार चालु आर्थिक वर्षभित्र सम्पूर्ण काम सम्पन्न नहुने भए पनि आगामी आर्थिक वर्षमा गाउँपालिका केन्द्रसम्म सडक पुर्याउने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको छ। गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म पुग्ने जानकारी दिए।
सडक पहुँचबाट अझै वञ्चित रहेका स्थानीय तहलाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ। सङ्घीय सरकारको विशेष प्राथमिकता र स्थानीय तहको सक्रियतासँगै अपिहिमालमा सडक विस्तारको काम निरन्तर अगाडि बढिरहेको छ।
































