सामाजिक सञ्जालका भ्रामक औषधि विज्ञापन हटाउन बोर्डको कडा निर्देशन

Image
Nisarga Hospital

सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन, भ्रामक र झुटा औषधिजन्य विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले कडा निर्देशन दिएको छ। बोर्डले यस्ता विज्ञापन जारी राख्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

CP Hospital Dhangadhi

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै आवश्यक लेबलिङ, ब्रान्डिङ र आधिकारिक प्रमाणीकरणबिना औषधिजन्य सामग्रीको प्रचार–प्रसार रोक्न आग्रह गरेको हो।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार कपाल उमार्ने, बोसो घटाउने, हड्डी तथा नसाको समस्या निको पार्ने, किड्नी सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउनेजस्ता अपुष्ट दाबी गर्दै सर्वसाधारणलाई भ्रमित बनाउने विज्ञापनबारे धेरै उजुरी प्राप्त भएका छन्।

nawajiwan
Attariya Hospital

यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै झुटा दाबीमार्फत आर्थिक ठगीको जोखिम बढाएको बोर्डको निष्कर्ष छ। वैज्ञानिक प्रमाण, आधिकारिक स्वीकृति वा आवश्यक प्रमाणीकरणबिना तयार गरिएका प्रचार सामग्रीले गलत उपचारतर्फ आकर्षित गर्ने खतरा पनि औँल्याइएको छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ विपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न विज्ञापनदाता, एजेन्सी, सामग्री उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म सञ्चालक तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई बोर्डले सचेत गराएको छ।

यस्ता भ्रामक विज्ञापन देखिएमा तत्काल विज्ञापन बोर्डमा उजुरी गर्न आग्रह गर्दै बोर्डले प्राप्त उजुरीका आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।