
धनगढी उपमहानगरपालिकाले थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धी विधेयक २०८३ र रानाथारू समुदायको पधना तथा भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धी विधेयक २०८३ सर्वसम्मत रूपमा पारित गरेको छ। नगरसभाको १५औँ अधिवेशनले यी दुवै विधेयक स्वीकृत गरेको हो।

नगर उपप्रमुख कन्दकला रानाका अनुसार विधेयक पारित भएसँगै थारू र रानाथारू समुदायमा परम्परादेखि अभ्यास हुँदै आएका भलमन्सा र पधना प्रणालीको संरक्षण, अभिलेखीकरण र विकासका लागि स्थानीय तहमा कानुनी आधार तयार भएको छ। यी परम्परागत संस्थाहरू सामुदायिक संगठन, सामाजिक सद्भाव, न्याय सम्पादन, विकास निर्माण तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

उपमहानगरपालिकाले यस्ता परम्परागत अभ्यासलाई संरक्षण गर्दै स्थानीय शासन प्रणालीसँग समन्वयात्मक रूपमा अघि बढाउने उद्देश्य लिएको जनाएको छ। विधेयकमा भलमन्सा तथा पधना प्रणालीको अभिलेखीकरण, संरक्षण, प्रवर्द्धन र अभ्यासलाई प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ। यसले समुदायको मौलिक परम्परा जोगाउँदै संस्थागत विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।

































