ऊर्जा सुरक्षामा भारतको जोड, स्वदेशी तेल–ग्यास अन्वेषण तीव्र बनाइने

Image
Nisarga Hospital

मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा देखिएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेल तथा प्राकृतिक ग्यासको अन्वेषण र उत्पादन विस्तारलाई प्राथमिकतामा राखेको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हर्दिपसिंह पुरीले ऊर्जा सुरक्षाका लागि स्वदेशी स्रोतको विकास अपरिहार्य भएको बताएका छन्।

CP Hospital Dhangadhi

भारत हाल विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता हो। हाल स्वदेशी उत्पादनले कुल आवश्यकताको करिब १० प्रतिशत मात्र धान्ने भएकाले सरकारले करिब दुई लाख ५० हजार वर्ग किलोमिटर नयाँ क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। साथै, अहिलेसम्म अध्ययन नभएको करिब १० लाख वर्ग किलोमिटर क्षेत्रमा पनि अन्वेषण विस्तार गरिने भएको छ।

Attariya Hospital

ऊर्जा आपूर्तिको विविधीकरणका लागि भारतले कच्चा तेल आयात गर्ने मुलुकको संख्या २७ बाट ४१ पुर्‍याएको छ। रुसी तेल खरिदबारे पश्चिमी मुलुकबाट आलोचना भए पनि भारतले आफ्नै ऊर्जा आवश्यकतालाई प्राथमिकता दिएको मन्त्री पुरीको भनाइ छ।

nawajiwan

सरकारले अन्डमान–निकोबार आसपासको गहिरो समुद्री क्षेत्रमा पेट्रोब्रास, टोटलएनर्जीज, बीपी, शेल र एक्सनमोबिलजस्ता अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्दै अन्वेषण तीव्र बनाउने योजना अघि सारेको छ। नवीकरणीय तथा आणविक ऊर्जामा लगानी बढाइरहेको भारतले ऊर्जा माग निरन्तर बढिरहेकाले तेल तथा ग्यास क्षेत्रमा करिब १० अर्ब अमेरिकी डलर लगानी गर्ने तयारी गरेको जनाएको छ।