
डोल्पाको मौरेलेक क्षेत्रमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार स्टेयरिङ फेल भएपछि जीप करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–फहाडाका विष्णु नामका एक पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई जना महिला गम्भीर घाइते भएका छन् भने दुई बालबालिकासहित अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। चालक पनि घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि जुम्ला अस्पताल पठाइएको छ। चालकको उपचारपछि थप अनुसन्धानका लागि जिल्ला ल्याइने तयारी भइरहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा दुर्घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रारम्भिक विवरणअनुसार जीपमा दुई बालबालिकासहित १२ जना सवार थिए। दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

































