
नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार उक्त रकम खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च गरिनेछ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रगत) आयोजना’का लागि ११ करोड ५० लाख अमेरिकी डलर तथा भन्सार प्रशासनको आधुनिकीकरणका लागि ५ करोड अमेरिकी डलर परिचालन गरिनेछ।

अवसरमा अर्थमन्त्री डा. वाग्लेले नेपालको दिगो विकासमा एडीबीको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा साझेदारी अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। एडीबीका अध्यक्ष कान्डाले नेपालसँगको छ दशकभन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै देशले सामना गरिरहेका आर्थिक चुनौती समाधानमा बैंकको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
































