
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको निधनपछि सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ। उपचारका क्रममा असार २५ गते वीर अस्पतालको बर्न युनिटमा निधन भएका नेपालीको परिवारले न्याय र राहतको माग गर्दै शव बुझ्न अस्वीकार गरेको थियो।

सहमतिअनुसार सरकारले पीडित परिवारलाई उचित राहत उपलब्ध गराउने, मृतककी छोरीको उच्च शिक्षाको सम्पूर्ण व्यवस्था गर्ने तथा पत्नीलाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गरिनेछ।

घटनाका दिन अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई प्रारम्भिक रूपमा निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्राचार गर्ने सहमति भएको छ। छानबिन प्रतिवेदनका आधारमा थप कारबाही अघि बढाइने जनाइएको छ। सहमतिपछि पीडित परिवार शव बुझ्न सहमत भएको छ।



































