
फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२६ को फाइनल खेल सकिएपछि पनि आम्दानी गर्ने नयाँ योजना सार्वजनिक गरेको छ। फाइनलमा प्रयोग हुने प्राकृतिक घाँसका वास्तविक टुक्रालाई विशेष स्मारिका (सुभेनिर)का रूपमा बिक्री गर्ने घोषणा गर्दै फिफाले यसबाट ११ मिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ।

अमेरिकी सञ्चारमाध्यम द एथलेटिकका अनुसार स्मारिकाको सुरुआती मूल्य ४४५ अमेरिकी डलर तोकिएको छ भने सबैभन्दा महँगो संस्करणको मूल्य ४,३०० अमेरिकी डलर (करिब ५ लाख ९० हजार रुपैयाँ) हुनेछ। यी स्मारिकामा फाइनलमा प्रयोग गरिएको वास्तविक मैदानको सानो भाग प्रिमियम एक्रिलिक केसमा सुरक्षित राखिनेछ। साथै, प्रामाणिकता पुष्टि गर्ने विशेष चिन्ह र आकर्षक प्याकेजिङसमेत रहने फिफाले जनाएको छ।

फाइनल खेल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ, जसलाई प्रतियोगिताका लागि ‘न्यु जर्सी न्युयोर्क स्टेडियम’ नाम दिइएको छ। सामान्यतया कृत्रिम सतह प्रयोग हुने यो रंगशालामा विश्वकपका लागि विशेष रूपमा प्राकृतिक घाँस बिछ्याइएको हो। यद्यपि प्रतियोगिताका क्रममा मैदानको गुणस्तरबारे केही खेलाडी र प्रशिक्षकले असन्तुष्टि व्यक्त गरेका थिए।

सबैभन्दा महँगो प्याकेजमा ३×३ इन्चको घाँसको टुक्रासँगै सुनले कुँदिएको प्रतिकृति टिकट, विश्वकप बलको सानो प्रतिकृति र क्रिस्टलबाट बनेको ट्रफीको प्रतिकृति पनि समावेश हुनेछ। हाल यी स्मारिका अमेरिका र युरोपका ग्राहकका लागि मात्र उपलब्ध हुनेछन् भने विश्वकप फाइनल सम्पन्न भएपछि मात्र डेलिभरी गरिने फिफाले जनाएको छ।
































