सरकारी कर्मचारीको नयाँ तलबमान लागू : मुख्यसचिवको ९० हजार, शिक्षकदेखि पेन्सनसम्म १० प्रतिशत प्रोत्साहन वृद्धि

Image
Nisarga Hospital

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गर्दै साउन १ गतेदेखि नै लागू गरेको छ। मन्त्रिपरिषद्को निर्णयपछि अर्थ मन्त्रालयले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान र सुविधा कार्यान्वयनमा ल्याएको हो।
नयाँ तलबमानअनुसार मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ। यसअघि ८४ हजार ९३२ रुपैयाँ रहेको तलब ग्रेड वृद्धिसहित बढाइएको हो। त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी महानिरीक्षक र नेपाल सरकारका सचिवहरूको तलब ८४ हजार ५७६ रुपैयाँ कायम गरिएको छ।
सरकारी सेवामा सबैभन्दा कम तलब पाउने प्रथम स्तरका कार्यालय सहयोगी, हल्कारा र हुलाकीको तलब पनि बढेर २८ हजार ९८४ रुपैयाँ पुगेको छ।
शिक्षा क्षेत्रतर्फ माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ७४ हजार ९५८ रुपैयाँ तथा प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४२६ रुपैयाँ निर्धारण गरिएको छ। स्वास्थ्य सेवामा अधिकृत बाह्रौँ तहका कर्मचारीले पनि ८४ हजार ५७६ रुपैयाँ तलब पाउने भएका छन्।
तलब वृद्धिसँगै सरकारले सबै कर्मचारीलाई मासिक तलबको १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ। साथै, अवकाशप्राप्त कर्मचारीहरूको पेन्सन रकम पनि १० प्रतिशतले वृद्धि गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
सरकारका अनुसार नयाँ तलबमान साउन १ गतेदेखि नै गणना हुने गरी लागू भइसकेको छ भने सम्बन्धित सबै निकायलाई सोहीअनुसार तलब तथा सुविधा भुक्तानी गर्न निर्देशनसमेत दिइएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital