
सुदूरपश्चिमका पूराना कलाकार केशवराज फुलाराको नयाँ डेउडा कोसेली अधुरो माया बजारमा सार्वजनिक भएको छ ।
निर्मलकुमार भण्डारी र टेक बहादुर ऐरको शब्द सिर्जनामा केशवराज फुलारा र रेखा जोशीको स्वरमा सजिएको उक्त गीत आइतबार केशव फुलारा अफिसियल युट्युबाट सार्वजनिक गरिएको हो ।

भूमिराज थापाको एरेञ्जमा कुसुम डिजिटल रेकर्डिङ् स्टुडीयो अत्तरिया कैलालीमा शेर बहादुर बोहराले रेकर्डिङ् तथा मास्टरिङ् गरेका हुन् ।
गीतको भिडियोमा भीम थापाको निर्देशनमा बिर बहादुर बोहरा, निशा बोहरा र साथिहरुको अभिनय रहेको छ । अमृत उपाध्यायले छायाङ्कन गरेको गीतमा निशा बोहराको मेकअप रहेको छ भने प्रविण रेश्मी मगरले भिडियो सम्पादन गरेका हुन् ।

चर्चित भागवत वाचक एवम् धार्मिक प्रवचनकर्ता पं स्व. हरिदत्त फुलारा तथा माता स्व. पद्मादेवी फुलाराको कोखबाट वि.सं. २०२९ साल असोज २ गते शिखर नगरपालिका वडा नं ६ को ‘चुणी’ गाउँमा कलाकार फुलाराको जन्म भएको हो । फुलारा गायन क्षेत्रमा २०४६ साल देखि समर्पित वरिष्ठ प्रतिभा हुन् । वि.सं. २०५० सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलको स्थापनापश्चात २०५१ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दीपायलले नियमानुसार लिएको स्वर परीक्षामा उत्तिर्ण गरी गायन क्षेत्रमा लागेका थिए । कलाकार फुलाराले हालसम्म कोपिला, बैरागीको फुलबारी, कलिले छाएको माया, लौ बिरी छम्का, पानी र…, मेरो प्यारो सुदूरपश्चिम, प्रकृति प्रेम, भाइबिनाको बिलौना, काँ मेरा बा गया ?, होइजाउँकी फुलकी माली, छोट्टा–छोट्टी, खेल मेरी दर्कादरी, कैसी भरुँ जमुनाजल पानी, साइ पर थाल धुनी, मायाको चिनो, टिपि खाइहालुकी, दुःखी जीवन, न्याउला रानी, काँ छै मेरी राधा प्यारी, हाइ मेरी दिलका साली लगाएत दर्जनौं गीतहरु बजारमा ल्याइसकेका कृतिहरु हुन् ।

स्वदेशका विभिन्न मेला महोत्सव तथा विदेशका विभिन्न कार्यक्रमहरुमा समेत सहभागि हुँदै आएका कलाकार फुलाराले विभिन्न सम्मानहरु पनि प्राप्त गरिसकेको बताए ।
पुराना मौलिक शैलीका गीतहरु सँगै समय सापेक्ष नयाँ शैलीका गीतहरुलाई पनि निरन्तरता दिने उनले प्रतिवद्धता जनाए ।






























