
सल्यानमा डिउटी सकेर कार्यालय फर्किने क्रममा बिरामी परेका प्रहरी सहायक हवलदार डिलबहादुर बोगटीको उपचारका क्रममा मृत्यु भएको छ। शारदा नगरपालिकास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत बोगटी डिउटी सकेर फर्किने क्रममा अचानक छाती तथा पेट दुख्ने र बान्ता हुने समस्या देखिएपछि जिल्ला अस्पताल सल्यानमा भर्ना भएका थिए।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार अस्पतालमा उपचारका क्रममा बोगटीको मृत्यु भएको हो। अस्पताल पुर्याएपछि केही समय उनको स्वास्थ्यमा सुधार आए पनि पछि अवस्था बिग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ। बोगटीले आफूलाई प्रेसरको समस्या रहेको समेत बताएका थिए।

कञ्चनपुरको अमरबस्ती निवासी बोगटीको पुर्ख्यौली घर डोटीको सायल गाउँपालिका–५ मा रहेको थियो। पारिवारिक संघर्षबीच हुर्किएका उनले नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए। उनका श्रीमती, ३ वर्षका छोरा र ६ वर्षकी छोरी छन्।

बोगटीको शव आइतबार कञ्चनपुर ल्याइएको थियो। सल्यानका डीएसपी पातलीलगायतको सहयोगमा शव ल्याइएको परिवारले जनाएको छ। सोमबार गोदावरी आर्यघाटमा हिन्दु परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको परिवारले जनाएको छ।































