
भारतीय बजारमा चिनीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सुदूरपश्चिमका सीमावर्ती क्षेत्रका उपभोक्तामा परेको छ। पछिल्ला केही सातायता भारतमा चिनीको मूल्य अस्वाभाविक रुपमा बढ्दा खुला सिमानाको भरमा सस्तो चिनी उपभोग गर्दै आएका कञ्चनपुर र कैलालीका उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन्।

खुला सीमा नाकाको फाइदा उठाउँदै यस क्षेत्रका उपभोक्ता र व्यापारीले लामो समयदेखि भारतबाट सस्तो मूल्यमा चिनी ल्याएर प्रयोग गर्दै आएका थिए। विगतमा भारतीय बजारबाट ल्याइएको चिनी यहाँका स्थानीय बजारमा भन्सार तिरेर समेत प्रतिकिलो ९० रुपियाँमा उपलब्ध हुँदै आएको थियो। तर पछिल्लो मूल्यवृद्धिसँगै अहिले उपभोक्ताले प्रतिकिलो १३० रुपियाँसम्म तिर्न बाध्य भएका छन्।
बेलौरी नगरपालिका-३ का जग्गुराम डगौराले भारतबाट ल्याइएको चिनी ९० रुपियाँमा किन्दै आए पनि अहिले १३० रुपियाँ तिर्नुपरेको गुनासो गरे। त्यस्तै स्थानीय लोकेन्द्र चौधरीले प्रतिकिलो ४० रुपियाँ मूल्य बढेपछि घरमा चिनीको प्रयोग नै घटाउनुपरेको बताए।

कलकत्ताका व्यवसायी मनीराम चौधरीका अनुसार भारतबाट ल्याइएको चिनी भन्सार तिरेर ९० रुपियाँमा बिक्री गर्दै आए पनि अहिले उतै महँगिएकाले १३० रुपियाँमा बिक्री गर्नुपरेको छ। भारतीय बजारमा मूल्य बढेपछि चिनीको मागसमेत घट्दै गएको व्यापारीहरु बताउँछन्।
शुक्लाफाँटा नगरपालिका-१० की रमा साउदले विगतमा १०० रुपियाँमा पाइने चिनी अहिले १४० रुपियाँमा किन्नुपरेको बताइन्। उनले स्थानीय चिनी उद्योगले सहुलियत मूल्यमा चिनी उपलब्ध नगराउँदा भारतमै निर्भर हुनुपरेको गुनासो गरिन्।

दररेट नमिलेकै कारण उपभोक्ता भारतमा निर्भर हुनुपरेको व्यवसायीहरुको भनाइ छ। व्यवसायी हरिस थापाका अनुसार विगतमा भारतीय बजारमा ७० रुपियाँ पर्ने चिनी यहाँका मिलबाट ९० रुपियाँमा किन्नुपर्ने भएपछि उपभोक्ताले स्थानीय उत्पादन नरुचाएका थिए।
हाल सुदूरपश्चिमभर कञ्चनपुरका दुई स्थानमा मात्र चिनी मिल सञ्चालनमा छन्। बेलौरी-१० स्थित महाकाली चिनी मिलका सूचना अधिकारी कालु सिंह ठगुन्नाले कच्चा पदार्थको अभाव र उत्पादन लागत बढी भएकाले भारतीय चिनीभन्दा महँगोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए। उनका अनुसार भारतीय चिनी स्थानीय बजारमा छ्यापछ्याप्ती पाइने भएकाले मिलले उत्पादन गरेको चिनी पूर्वी जिल्लामा निर्यात गर्नुपरेको छ।
उनले भारतमा मूल्य बढेपछि भने स्थानीय उत्पादनको माग बढेको बताए। उनका अनुसार तिहारका लागि ५० हजार क्विन्टल खपत हुने अनुमान छ। महाकाली मिलले यस वर्ष एक लाख ८३ हजार क्विन्टल चिनी उत्पादन गरेकोमा हालसम्म एक लाख २३ हजार क्विन्टल बिक्री भइसकेको छ।
त्यसैगरी पुनर्वासस्थित भागेश्वर चिनी मिलका सूचना अधिकारी डम्मर खड्काले स्थानीयले सस्तोमा भारतबाट चिनी ल्याउने गरेकै कारण स्थानीय उत्पादनले बजार नपाएको बताए। उनका अनुसार भारतीय बजारमा मूल्य बढेपछि यसपटक स्थानीय उत्पादनले यही क्षेत्रमा बजार पाउने अपेक्षा गरिएको छ। उखुको पर्याप्त आपूर्ति नहुँदा उत्पादन बढाउन नसकिएको बताउँदै उनले यसपटक एक लाख ८० हजार क्विन्टल उत्पादन भएकोमा ८० हजार क्विन्टल बिक्री हुन बाँकी रहेको जानकारी दिए।





























