
दार्चुलामा भारी वर्षाको सम्भावना र उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्लाभर सार्वजनिक सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, दार्चुलाले सूचना जारी गर्दै आजदेखि असोज ११ गते बिहान ६ बजेसम्म सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ।

यसअघि प्रशासनले असोज ७ गते सूचना जारी गर्दै असोज ८ देखि १२ गतेसम्म रातिको समयमा मात्र लामो तथा छोटो दूरीका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको थियो। तर, भारी वर्षाको पूर्वानुमान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार दार्चुलालाई अति जोखिमयुक्त ‘रेड जोन’ क्षेत्रमा राखिएपछि दिन र रात दुवै समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।

प्रशासनले विपद्को जोखिमलाई ध्यान दिँदै अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। आकस्मिक तथा अत्यावश्यक अवस्थामा भने स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।
































