
जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालय लगिएको छ। उनलाई लिन शनिबार बिहान ब्युरोको टोली ललितपुरको नख्खुस्थित निवासमै पुगेको थियो।
समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले शुक्रबार श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए। पत्रकार श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिएका छन्।
ब्युरो स्रोतका अनुसार दुवै पक्षलाई सँगै राखेर विवादबारे छलफल गराउने तयारी गरिएको छ। समाचारको विषयलाई लिएर सुरु भएको विवाद अब प्रहरीको छलफलसम्म पुगेको हो।
यसअघि पनि श्रेष्ठ प्रहरीको नियन्त्रणमा परेका थिए। गत साउन २७ गते काठमाडौं प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएको थियो। त्यसक्रममा प्रहरीले उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्रीसमेत नियन्त्रणमा लिएको थियो।
त्यसपछि श्रेष्ठका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए।
यसपटकको घटनामा भने श्रेष्ठ र पन्त दुवै पक्षले एकअर्काविरुद्ध निवेदन दिएका छन्। ब्युरोले दुवै पक्षसँग छलफल गरी विवादबारे थप प्रक्रिया अघि बढाउने तयारी गरेको छ।


































