
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु र तुवाँलो लागेको छ।
आज दिउँसो देशका हिमाली क्षेत्रसहित कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। यस्तै, हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



























