
अत्तरियाः धनगढी–अत्तरिया ६ लेन सडकमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण तथा लेन अनुशासन कायम गराउने उद्देश्यले सडक सुरक्षा सचेतना अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत सडकका विभिन्न स्थानमा सवारी चालक, यात्रु तथा पैदलयात्रीलाई लक्षित गरी सचेतनामूलक सन्देशसहितका बोर्ड राख्न सुरु गरिएको हो।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीको अगुवाइमा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, ट्राफिक प्रहरी तथा सडक आसपासका विभिन्न संघसंस्थाको सहकार्यमा अभियान सञ्चालन गरिएको हो। अभियानमा नवजीवन अस्पताल, सुन्दर सुदूरपश्चिम यातायात प्रालिलगायतका संस्थाले समेत सहकार्य गरेका छन्।
कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी प्रमुख नवराज कार्की, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐर, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशमलाल आचार्यलगायतको उपस्थिति रहेको थियो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष ललित चन्दले सडक दुर्घटना न्यूनीकरण गर्न चालक, यातायात श्रमिक, व्यवसायी, यात्रु तथा आम नागरिक सबैलाई जिम्मेवार र सचेत बनाउने उद्देश्यले अभियान सुरु गरिएको बताए।
उनका अनुसार धनगढी–अत्तरिया ६ लेन सडकमा तीव्र गति, जथाभावी ओभरटेक, अव्यवस्थित सवारी सञ्चालन, लेन अनुशासन उल्लङ्घन तथा ट्राफिक नियमको बेवास्ताले दुर्घटनाको जोखिम बढाइरहेको छ। यस्तो अवस्था अन्त्य गर्न ट्राफिक प्रहरीको निगरानीसँगै सडक प्रयोगकर्ताको व्यवहारमा सुधार आउन आवश्यक रहेको उनले बताए।
अभियानले सवारी चालकलाई तोकिएको लेनबाट सवारी सञ्चालन गर्न, निर्धारित गतिसीमा पालना गर्न, अनावश्यक ओभरटेक नगर्न, पैदलयात्रीको सुरक्षामा ध्यान दिन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सन्देश दिएको छ।
अध्यक्ष चन्दले सडक पूर्वाधार विस्तार हुँदैमा मात्र दुर्घटना न्यूनीकरण नहुने उल्लेख गर्दै सडकको सुरक्षित र अनुशासित प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए। सडक सुरक्षा कायम गर्ने जिम्मेवारी ट्राफिक प्रहरी र चालकको मात्र नभई स्थानीय सरकार, यातायात व्यवसायी, श्रमिक, नागरिक समाज र सम्पूर्ण सडक प्रयोगकर्ताको साझा दायित्व भएको उनको भनाइ छ।
त्यस्तै, संगठनका प्रदेश सदस्य अमर विष्टले दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु र पैदलयात्री सबैमा सडक सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए। उनका अनुसार सचेतनामूलक बोर्ड राख्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
यातायात श्रमिकको हकहित, अधिकार र सामाजिक सुरक्षाका क्षेत्रमा क्रियाशील संगठनले यात्रुको जीवन रक्षा र सुरक्षित यातायातलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
‘लेन अनुशासनको पालना गरौँ, सडक दुर्घटना न्यूनीकरणमा हातेमालो गरौँ, आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित अघि बढाइएको अभियानले धनगढी–अत्तरिया ६ लेन सडकलाई सुरक्षित, व्यवस्थित र दुर्घटनामुक्त बनाउन सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।




























