
काठमाडौँ: सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। जनमत पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्री सरोज कुमार यादवलाई दिँदै आएको समर्थन समेत फिर्ता लिएको जनाएको छ ।

जनमत पार्टीका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्तासँगै मन्त्रीहरुले पदबाट राजीनामा दिइसकेको जानकारी दिए। सत्ताको नेतृत्व गरेको दल जसपासँग विवाद उत्पन्न भएपछि जनमत सरकारबाट बाहिरिएको जनाइएको छ।
सप्तरीमा जनमतलाई बाइपास गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालय शिलान्यास गरेपछि राउत असन्तुष्ट बनेका थिए। यस्तै मधेस सरकारका अन्य कतिपय कामकारबाहीमा समेत जनमतले असन्तुष्टि पोख्दै आएको थियो। मधेसमा जनमतबाट २ मन्त्री र एक राज्यमन्त्री सरकारमा थिए।




जनमतका मधेस प्रदेशमा १३ सांसद रहेका छन् भने समर्थन फिर्ता लिँदा पनि सरकारलाई भने तत्काल कुनै असर पर्ने देखिँदैन।



































