
बैतडी: बैतडीमा सम्पन्न साेह्र वर्षमुनिको पुरूष क्रिकेट प्रतियोगिताकाे उपाधि दशरथचन्द एकेडेमीले हात पारेकाे छ। आइतबार सम्पन्न फाइनल भिडन्तमा निङलाशैनी क्रिकेट क्लब(एनसीसी ) माथि ३ विकेटको राेमाञ्चक जित निकाल्दै एकेडेमी च्याम्पियन बनेको हाे।

एनसीसीले दिएकाे ८४ रनकाे झिनाे लक्ष्य एकेडेमीले २१ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायाे। जसमा नवीन थापाले २४ र सुमित कार्कीले २१ रनकाे याेगदान गरे। एनसीसीका कप्तान विक्रम बाेहरा र वसन्त बाेहराले २/२ विकेट हात पारे।




यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेकाे एनसीसी १७.३ ओभरमा ८३ रनमा अलआउट भयाे । उसका कप्तान विक्रम बाेहरा ३४ रनमा अविजित रहेपनि अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । एकेडेमीका नवीन थापाले ४ विकेट लिए। नवीन म्यान अफ द फाइनल पनि चुनिए ।
प्रतियोगिताभर २५५ रन र १२ विकेट हात पारेका एनसीसीका कप्तान विक्रम बाेहरा म्यान अफ द सिरिज भएका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बाेहराले जानकारी दिनुभयो ।
उपाधिसंगै एकेडेमीले १६ हजार पुरूस्कार पायाे भने एनसीसीले १० हजारमा चित्त बुझायाे। म्यान अफ द सिरिजले २५०० पाए।
विजेता उपविजेता खेलाडीलाई बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्द,सचिव सिद्धराज बाेकटीलगायतले पुरूस्कार वितरण गर्नुभयो ।
सहिद दिवसकाे उपलक्ष्यमा बैतडी जिल्ला क्रिकेट संघको आयोजना र सहिद दशरथचन्द स्मृति प्रतिस्ठानकाे सहआयाेजनामा माघ ९ गतेदेखि प्रतियोगिता शुरू भएको थियोे ।
उमेर समूहको याे प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।



































