बाँदरले दु:ख दिएपछि पोखरामा वडाले सुरु गर्‍यो रुख काट्ने अभियान

Image
Nisarga Hospital

पोखरा: पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दु:ख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ ।

CP Hospital Dhangadhi

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन निर्देशन दिएका छन् । वडाध्यक्ष पाण्डेले निकालेको उक्त सूचना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सूचनामा साविक लामाचौर पुरञ्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित क्षेत्र भएको र प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति कार्यक्रममै बाँदर नियन्त्रण गर्ने उल्लेख गरेको हवाला दिंदै १० दिनभित्र सबै रुख काट्न निर्देशन जारी गरेका छन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

‘…आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउन’, वडाध्यक्ष पाण्डेले सूचनामा भनेका छन्, ‘साथै आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ ।’

वडाध्यक्ष पाण्डेले तत्कालीन लामाचौर-पुरञ्चौरको घार्मीडाँडा क्षेत्रमा वनजंगल बढी भएको र मानव बस्ती कम हुँदा बाँदरले दु:ख दिएको बताए । ‘रुखैरुख बढी हुँदा बस्ती कमजोर भयो । बाँदर धेरै भएर अहिले घरमै आउन थाले’, उनले अनलाइनखबरसँग भने, ‘मान्छेले धपाएर पनि हटाउन नसकिने भयो ।’

वडाध्यक्ष पाण्डेले उक्त अभियानअन्तर्गत आफ्नो पुर्जामा भएको रुखमात्रै काट्न भनिएको प्रष्टीकरण दिएका छन् । यद्यपि, उनले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख गरिएको छैन । ‘सबै भएभरको काट्ने भनेको होइन । आफ्नो पुर्जामा भएको काट्न वन कार्यालयले पनि केही गर्दैन,’ उनले भने ।

हाललाई आफ्नो पुर्जामा भएको उत्तिस, चिलाउनेलगायतको रुख काट्न भनिएको वडाध्यक्ष पाण्डेले बताए । तत्कालीन समयमा वनविनास रोक्न उत्तिस, चिलाउनेलगायतको रुख रोप्दा काफललगायतको फलफुलको बिरुवा मासिएको उनको दाबी छ ।

‘पहिलेपहिले यो क्षेत्रमा तिजु, काफल एकदमै पाइन्थ्यो । बाँदरहरु आएर त्यहीं भुल्थे । मान्छेलाई दु:ख दिन्थेनन्’, पाण्डेको दाबी छ, ‘वनविनास रोक्न उत्तिस, चिलाउने रोपेपछि काफलहरु मासिए । अहिले वनमा खोज्दा एउटा पनि रुख भेटिंदैन ।’

वडाध्यक्ष पाण्डेले कटान गरिएका रुख बिक्रिवितरण गर्न भने नपाइने बताए । उनले वडाले चलाएको अभियानअन्तर्गत कटान भएका रुख व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने तर बिक्रिवितरण भएको पाइए वन कार्यालयले कारबाही गर्न सक्ने सुनाए ।

यता पोखरा महानगरपालिकाले वडाले चलाएको रुख काट्ने अभियानबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महानगरका मेयर धनराज आचार्यले रुख काट्नेबारे महानगरबाट कुनै पनि निर्णय नभएको जानकारी दिएका हुन् ।

मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत बिनाअनुमति रुख काट्ने, फाड्नेलगायत कार्य नगर्न, नगराउन जानकारी गराइसकिएको जानकारी दिएका छन् ।

Dhnagadhi & Krishanapur