
बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाकाे दाेगडाकेदार गाउँपालिका ८ कालागाउँकि १५ वर्षीया मनिसा बिष्ट रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयाे। मनिसाकाे घटनास्थलमै मृत्यु भएको हाे।

दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जादै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप मंगलबार दिउँसो वडा नं २ को कटौजपानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा दाेगडाकेदार ८ कै चालक समेत रहेका ३० वर्षीय भुपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट रहेका छन्।




घाइतेमध्ये चालक भुपेन्द्रकाे अवस्था गम्भीर रहेकाे प्रवक्ता जाेशीले बताउनुभयो ।
घाइतेहरूकाे उद्घार गरि उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। जिपमा चालकसहित ८ जना सवार रहेका थिए।
दुर्घटनाग्रस्त जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


































