
डोटी: डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. २ र ३ को दिपायल एअरपोर्ट क्षेत्रका बासिन्दाहरु करिब दुइ सातादेखि खोलाको दुषित पानी पिउन र खुल्ला शौच गर्न बाध्य भएका छन् ।

उनिहरुले उपभोग गर्ने दिपायल खानेपानी उपभोक्ता समिति अन्तरगतको योजना अस्तव्यस्त भएपछि खोलाको दुषित पानी पिउन र खुल्ला शौच गर्न बाध्यता रहेको स्थानीय ममता भण्डारीले नजर अनलाइनलाई जानकारी दिइन् ।
दिपायल खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुले राजीनामा दिएर बसेको तथा दिपायल सिलगढी नगरपालिका, सम्बन्धित वडा नं. २ र ३ बाट पनि यस समस्याको उचित निकास हुन नसकेपछि आफुहरु दुषित पानी पिउन बाध्य रहेको र घरमा पानी नभएपछि शौचालय प्रयोग पनि गर्न नपाएर खुल्ला दिशामुक्त क्षेत्र भएर पनि नदि, खोला, खोल्सा तथा जङ्गलतिर दिसापिसाब गर्न बाध्य रहेको उनले बताईन् ।
आफुलाई जानकारी भए अनुसार केहि स्थानीय उपभोक्ताहरुले मासिक खानेपानीको महसुल नतिरेको भन्दै सबै उपभोक्ताहरुलाई मर्का पर्ने गरी दिपायल खानेपानी उपभोक्ता समितिबाटै मुहानै अवरुद्ध गरिदिएको र आफुहरुले वडामा राजिनामा दिएर बसेको आरोप लगाइन् ।

यस विषयमा दिपायल खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम शाहुसँग बुझ्दा गत असोज १३ गते गठित उपभोक्ता समितिका सबै सदस्यहरु बैठकमा सहभागि नभईदिने, उपभोक्ताहरु पनि समस्या समाधानका लागि बैठकमा आएर साथ नदिने, निर्धारित मासिक महसुल ८३ रुपैंया ५० पैंसा पनि नियमित तिर्न नसक्ने लगाएत कारणले समस्या सिर्जना भएको बताए ।
अध्यक्ष शाहुले भने–‘गएको पुस २५, २७ र २८ गते सार्वजनिक ठाउँमा सूचना गरी बैठक राख्दा समेत न त समितिका मान्छे, न त उपभोक्ता कोही सहभागि नभैदिएपछि समितिका सक्रिय ३ जना थियौं, त्यसैले गर्दा माघ ६ गते आफुहरुले जिम्मेवारीबाट राजीनामा दिएका छौं ।’
आफुले करिब १२ वर्षदेखि निशुल्क खानेपानी समितिमा सहयोग गर्दै आएको, हरेक तीन महिनामा हरहिसाब सार्वजनिक गर्ने गरेको भए पनि कसैबाट काम गर्ने वातावरण नभएको अध्यक्ष शाहुले बताए ।

यसका साथै दिपायल खानेपानीका हुने खाने अवस्थाका ८० प्रतिशत उपभोक्ताहरुले मासिक महसुल नतिर्ने र आर्थिक अवस्था कमजोर भएका गरिब अवस्थाका २० प्रतिशत जति उपभोक्ताहरुले मात्रै महसुल तिर्ने गरेको उनले बताए ।
सबैले नियमित महसुल बुझाइदिन, धारामा टुटि जोडिदिन, दुइ तीन तले घरमा मोटर नजोडीदिन लगाएत विषयमा अनुरोध गर्दै घरदैलो पनि गरिएको उनले बताए ।
दिपायल खानेपानीमा तीन वटा मुहानहरु समुहगाडको ५ किलोमिटर दुरी, द्वारी खोलाको ७ किलोमिटर दुरी र गोदरे खोलाको ६ किलोमिटर दुरीबाट सञ्चालनमा रहेको थियो । जसबाट दिपायल एअरपोर्ट क्षेत्रका ५५४ घरधुरीले उपभोग गरिरहेका थिए ।
ति उपभोक्ता मध्ये कतिपयले वडाबाट सहयोग लिएर व्यक्तिगत पम्प राखेको, कतिपयले नहरको पानी प्रयोग गर्ने गरेको अवस्थामा दिपायल खानेपानी आवश्यक नरहेको भन्दै समितिलाई व्यवास्ता गरेको पाईएको अध्यक्ष शाहुको भनाइ छ ।
पानी मुहान समितिले नै अवरोध गराएको भन्ने आरोप सत्य नभएको र अनावश्यक भ्रम फैलाईएको उनले बताए ।
माघ ६ गतेबाट पानी सञ्चालनमा नआएपछि समूहगाड मुहानका उपभोक्ताहरुले मासिक २ सय उठाउने गरी र द्वारी खोला मुहान भएका उपभोक्ताहरुले पनि मासिक १ सय रुपैंया उठाउने गरी समितिसँग सरोकार नराखी आफै सूचारु गरेको भन्ने सुनेको उनले बताए ।
अब गोदरे खोला मुहान भएका करिब डेढ सय घरधुरी उपभोक्ताहरुले उपभोग गर्ने खानेपानी सूचारु नरहेको उनले बताए ।
तर तीन वटै मुहानहरु दिपायल खानेपानी उपभोक्ता समितिको नियन्त्रण बाहिर रहेको उनले बताए ।
खानेपानी उपभोक्ता समितिको कार्यालयमा रहेका ४ जना कर्मचारी पनि कार्यालयमा आउने छोडेको र कार्यालय पनि बन्द अवस्थामा रहेको उनले बताए ।
यस विषयमा दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र खड्कासँग सम्पर्क गरी वास्तविक समस्या के हो त भन्दा वडा अध्यक्ष खड्काले दिपायल खानेपानी उपभोक्ता समितिका अध्यक्षले भने बमोजिमकै समस्या रहेको बताए ।
अहिले दिपायल सिलगढी नगरपालिकाका नगर प्रमूख बाजी सिं खड्का जिल्ला बाहिर रहेको र नगर प्रमूख जिल्लामा आउने बित्तिकै सबैलाई राखेर समस्याको निकास खोजिने बताए ।
वषौंदेखि सञ्चालनमा रहेको खानेपानी योजना आपसी समझदारी अभावमा अस्तव्यस्त भएको र मान्छेको आधारभूत आवश्यकता खानेपानीको उपभोग गर्न नपाउनु दुर्भाग्य हो ।






























