
डोटी: नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले ‘पार्टीलाई एक ढिक्का बनाउने अभियानमा लाग्न’ निर्देशन गरेका छन् ।

पार्टी कामको शिलशिलामा बाजुरा जाने क्रममा शनिबार डोटीको सिलगढी स्थित एमाले पार्टी कार्यालयमा उपलब्ध नेता तथा कार्यकर्तासँगको भेटमा थापाले यस्तो बताउनु भएको हो ।
पूर्व उद्योग मन्त्री समेत रहेका थापाले भन्नुभयो –‘कर्ण थापा डोटी पुगेर के भने त भन्ने सन्दर्भमा म के भन्छु भने, डोटीको पार्टी एकताबद्ध बनाउन पार्टीका मूल नेता एक ठाउँमा बस्ने, त्यसै अनुरुप जिल्ला अधिवेशन सफल पार्ने सन्देश नै मूल सन्देश हो ।’

डोटी पुगेर आफ्नो मुखबाट यस्तो सन्देश भनेता पनि यो सन्देश एमाले अध्यक्ष केपिशर्मा ओलीको पनि सन्देश भएको उहाँले बताउनुभयो ।

पार्टीभित्र नीतिमा, विचारमा बहस र छलफल अनिवार्य भएको तर कुनै पनि बाहनामा वैरभाव राख्न नहुने र त्यसो भएमा पार्टीले नै घाटा व्यहोर्नुपर्ने उहाँले औंल्याउनुभयो ।
सुदूरपश्चिमका जिल्लाहरुमा अधिवेशनको मिति घोषणा भैसकेको र आगामी चैत्र १० गतेभित्रमा सबै जिल्लाको अधिवेशन सम्पन्न हुने भन्दै अधिवेशनको पूर्व सन्ध्यामा एमाले नेता थापाले नेता कार्यकर्ताहरुमा उत्साह थप्न एकताको सन्देश प्रवाह गर्नुभएको हो ।
भौतिक विकास गर्नु त छँदैछ, मान्छेलाई सहि बनाउने र सहि मान्छे भएपछि समाज आफै बन्ने नेकपा एमालेको चाहना रहेको उहाँले बताउनुभयो । यसको अर्थ पार्टीको असल नेता पनि चाहिएको बेला बनाउन नसकिने भन्दै असल नेता उत्पादन गर्नुपर्नेमा उहाँको जोड थियो । वर्तमानमा सबैले विश्वास गर्ने नेता केपिशर्मा ओली भएको भन्दै नेतृत्व जोगाउन सबैले लाग्नुपर्ने, नेतृत्व जोगाउन सके पार्टी बन्ने र पार्टी जोगाउन सके देश र समाजका लागि योगदान गर्न सकिने उहाँको भनाइ थियो ।

गठबन्धनको चरम घेराबन्दीका बिच पनि डोटीको एक स्थानीय तह, एक सिट प्रदेश सभा जित्नु र प्रतिनिधी सभामा पनि सम्मानजनक मत ल्याउनुमा डोटीको एमाले पार्टी मजबुत देखिएको उहाँले बताउनुभयो ।
एमाले डोटीले ठूलै राजनीतिक नेतृत्व उत्पादन गर्न नसके पनि गौरी ओली पोलिट ब्युरो सदस्यसम्म पुगेको बताउनुभयो । यसका साथै जिल्ला अध्यक्ष चक्र मल्ल लगाएत जिल्लाका मूल नेताहरुलाई आफुले पनि पार्टी एकढिक्का बनाउन एक ठाउँमा राखेर छलफल गरिसकेको र कार्यकर्ता पंक्तिबाट पनि पार्टी एकढिक्का बनाउनका लागि भूमिका खेल्न आग्रह गर्नुभयो ।
नेतृत्वको काम भनेको सबैलाई मिलाउने भएको भन्दै नेतृत्वले तल तल कार्यकर्तालाई भिडाएर लडाइँ लड्न नहुनेमा उहाँले जोड दिनुभयो । भेटघाट कार्यक्रममा उपलब्ध प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, विद्यार्थी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको एमाले डोटीका सचिव शेर बहादुर मल्लले जानकारी दिनुभयो ।
सुदूरपश्चिमका कुन जिल्लामा कहिले छ अधिवेशन ?
नेकपा एमालेले सुदूरपश्चिमका जिल्लाहरुमा आगामी फाल्गुनदेखि अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ ।
दार्चुलामा गएको पुस १८ देखि २० सम्म जिल्ला अधिवेशन सम्पन्न गरिसकेको एमालेले अब फाल्गुन फाल्गुन २ र ३ गते बझाङ्मा जिल्ला अधिवेशन गर्दैछ । त्यसपछि कैलालीमा फाल्गुन ६ र ७ गते, कञ्चनपुर १२ र १३ गते, बाजुरामा १९ र २० गते, डडेल्धुरामा २६ र २७ गते तथा बैतडीमा २८ र २९ जिल्ला अधिवेशन गर्दैछ ।
त्यसपछि डोटीमा चैत्र २ र ३ गते तथा अछाममा मिति एकिन नभए पनि चैत्र ७ र ८ गतेतिर जिल्ला अधिवेशन गर्ने तयारी रहेको छ ।






























