
बैतडी: कुनै बेलाको च्वागढ नामले प्रख्यात हालको सिगास गाउँपालिका बैतडी जिल्लाका १० स्थानिय तह मध्ये सबैभन्दा टाढा र दुर्गम गाउँपालिकाको नामले चिनिन्छ । देशमा संघीयता आएपछि तीन तहको सरकार बन्यो जस अन्तर्गत सिगास पनि गाउँपालिका बन्यो ।

विकास निर्माणका कार्यहरूमा विस्तारै फड्को मारिरहेको सिगास गाउँपालिका अन्य क्षेत्रमा पनि बिस्तारै फड्को मारिरहेको छ । राज्य पुनर्संरचना भएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा आएको छ ।
सोही अनुरुप सिगास गाउँपालिकाले खेलकुद क्षेत्रमा पनि बिस्तारै फड्को मारिरहेको देखिन्छ । ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिसकेको सिगास गाउँपालिकाले अदभुत क्षमता भएका खेलाडीको जन्म दिएको छ ।




सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल सिगास गाउँपालिका २ की देवकी कुमारी धामी र मञ्जु कुमारी धामीले सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै सिगास गाउँपालिका लाइ सुदूरपश्चिम प्रदेशमा चिनाउन सफल भएकी छन ।
बैतडी जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिकालाइ एथलेटिक्स तर्फको दौडमा विभिन्न स्थान हासिल गर्दै पदक दिलाएकी देवकी र मञ्जुले सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि बैतडी जिल्ला बाट प्रतिनिधित्व गर्दै पदक दिलाएकी छन ।
शिवलिङ्ग मावि धौलाडीकी छात्रा देवकी कुमारी धामीले सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै १५ सय मिटर छात्रा दौड र ३ हजार मिटर छात्रा दौडमा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक दिलाएकी छन ।
यस्तै शिवलिङ्ग मावि धौलाडीकी छात्रा मञ्जु कुमारी धामीले ८ सय मिटर छात्रा दौडमा तृतीय स्थान हासिल गर्दै काश्य पदक दिलाउन सफल भइन् भने ४×४०० मिटर छात्रा रिले दौडमा तृतीय स्थान हासिल गर्दै काश्य पदक दिलाउन सफल भइन् ।
समग्रमा सिगास गाउँपालिकाकी चेली देवकी कुमारी र मञ्जु कुमारी धामीले बैतडी जिल्ला बाट प्रतिनिधित्व गर्दै सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण पदक र २ काश्य पदक दिलाउन सफल भएका छन् ।
दौडमा उत्कृष्ट प्रदर्शन गरेको मूल्याङ्कन गर्दै बैतडी जिल्ला खेलकुद समितीले छनोट गरी सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बैतडी जिल्ला बाट प्रतिनिधित्व गरिरहेकी देवकी कुमारी धामी र मञ्जु कुमारी धामीको उत्कृष्ट प्रदर्शन प्रति गौरवान्वित महशुश भएको सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले बताए ।
सिगास गाउँपालिकामा खेलकुद क्षेत्रमा उल्लेखनीय प्रगती गर्नमा उल्लेखनीय प्रयास गर्न सफल शिक्षा अधिकृत भट्टले यस अघि बैतडी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिकालाइ विभिन्न स्थान हासिल गर्दै पदक दिलाएका खेलाडी लाइ नगद सहित सम्मान गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।
यस्ता खेलले खेलाडीको पहिचान हुनुका साथसाथै सिगास गाउँपालिकालाई बैतडी जिल्लामा हेर्ने दृष्टिकोण परिवर्तन हुने साथै सिगास गाउँपालिकामा खेलकुद क्षेत्रमा विशिष्ट सम्भावना रहेको बताउदै आगामी दिनमा पनि शिक्षा युवा तथा खेलकुद क्षेत्रमा निरन्तर लागिरहने शिक्षा अधिकृत भट्टले बताए ।
सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बैतडी जिल्ला बाट प्रतिनिधित्व गर्ने गरी सिगास गाउँपालिका बाट भलिबलमा रेमन वि.क. र अरूण वि.क., ८ सय मि. दाैडमा मञ्जु कुमारी धामी, १५ सय मि. छात्रा दाैड र ३ हजार मिटर छात्रा दौडमा देवकी कुमारी धामी र १५ सय मि. छात्र दाैडमा टेक सिह बोहरा छनौट भएका थिए ।



































