
बैतडी: नेकपा एमाले बैतडीकाे अधिवेशन साेमबारदेखि हुदैछ । पाटनमा आयोजना हुने नेकपा एमाले बैतडीको नवौँ अधिवेशनका लागी तयारी अन्तिम चरणमा छ।

अधिवेशनकाे उद्घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले गर्ने नेकपा एमाले बैतडीका उपसचिव लाेकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
अधिवेशनका लागी पार्टीले जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि छनौट गरेको छ । अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ । अधिवेशनका लागि सबै वडाबाट ६ सय बढी प्रतिनिधि छनोट भएका उनले बताए । ७५ संगठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट भएका र दलित संगठित सदस्यबाट ४० जना बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट भएका बताइएको छ ।
आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाएको छ । अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । अधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन हुने एमाले बैतडीले जनाएको छ ।
पार्टीको नवौँ अधिवेशनमा नेतृत्व लिन नयाँ र पुराना नेताहरु कस्सिएका छन् । अध्यक्षका लागी नरेश बिक, हालै नेकपा एकिकृत समाजवादी छोडेर एमालेमा फर्केका नरेन्द्र बिष्ट र पार्टी उप सचिव समेत रहेका लोकेन्द्र भण्डारीको नाम चर्चामा छ । तर निर्वाचननै हुने स्थिति नआउने नेताहरु बताउँछन् । एमालेका निबर्तमान सुदूरपश्चिम अध्यक्ष तथा केन्द्रिय सदस्य दामोदर भण्डारीको गृह जिल्ला बैतडीमा उनको निर्देशन बिपरित नहुने भएका कारण सकेसम्म सहमतीबाटै नेतृत्व टुगिंने नेताहरु बताउँछन् ।






































