
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सम्पन्न भएको हो ।

आयोजनाको मकालु गाउँपालिका-५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध धमाधम निर्माण भइरहेको छ । जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नुपर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खनिसकिएको सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो । बाँधस्थलबाट विद्युत् गृहसम्मको ११ किलोमिटर सुरुङ यसअघि नै खुलिसकेको छ ।
यसैगरी चिचिला गाउँपालिका–३, पुखुवा दोभानमा धमाधम विद्युत्गृह निर्माण भइरहेको छ । परियोजनामा कुनै अवरोध नभएमा अबको करिब दुई वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ । परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ ।




जलविद्युत् उत्पादनको केन्द्र मानिएको सङ्खुवासभाको अरुण नदीमा अहिले चार वटा ठूला जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । किमाथाङ्का अरुण, माथिल्लो अरुण, अरुण तेस्रो र तल्लो अरुण परियोजना निर्माण भएपछि तीन हजार ८४ मेगावाट बिजुली उत्पादन हुनेछ ।
नेपाल टेलिभिजन बाट


































