
बझाङः विकास निर्माणको काममा महिलाहरूको चर्चा कमै मात्रामा सुनिन्छ । घर, भवन, पुल, बाटो लगायतका भौतिक पूर्वाधारको निर्माणमा इन्जिनियरदेखि ठेकेदार सम्म प्रायः पुरुषहरूकै चर्चा हुन्छ । तर आज भोलि यो काम गर्नका लागि महिलाहरू निकै अग्रसर हुने गरेका छन् । तथापि उनीहरू मजदुरमा मात्र सीमित छन् । पुरुष कर्मीहरूको सहयोगीको भूमिकाभन्दा माथि उठ्न नसकी लेबरबाट मिस्त्री अनि मिस्त्रीबाट ठेकेदार बन्न सकिरहेका छैनन् ।

तर बझाङ जस्तो जिल्लामा एक जना यस्ता महिला छिन्, जो पुरुषसरह मिस्त्रीको काम गर्छिन् । तर उनको एउटै गुनासो छ काम पाइँदैन । मस्टा गाउँपालिका ५ किनाडामा गारो अथवा मसला, घर चिन्ने काम गर्ने सुज्जा बोहरा एक मात्र महिला डकर्मी हुन् । उनको काम प्रतिको लगाव देखेर गाउँलेले उनलाई महिला मिस्त्री भन्छन् ।
निर्माणको क्षेत्रमा प्रायः पुरुषहरूले सम्हाल्दै आएको मिस्त्रीको काम उनले विगत सानै वर्षदेखि गर्दै आएकी छन् । आफूले सानै उमेरमा बुबाको घर निर्माण गर्ने कार्यमा हेर्दै सहयोग गर्दै आएको उनी बताउँछिन् । सुरुमा यस क्षेत्रमा आउँदा आफूले बुबाको काम हेदै मसला रोल गारो गदै प्रवेश गरेर आफ्नो मेहनतले अहिले आफू मिस्त्री बनेको उहाँको भनाई छ ।

घरमा आयस्रोत नहुँदा लेबर को लागी पैसा नभएर आफैले बुबाको प्रेरणाले सुरुमा आफ्नै तीन वटा घर निर्माण गरेको तर अहिले यही कामले आफ्नो परिचय बनाएको बोहरा बताउँछिन् ।
हालसम्म आफ्ना घर मात्र निर्माण गरेको बताउने बोहराले अरूले भने अझै महिला मिस्त्रीलाई विश्वास नगर्ने गरेको उनको भनाइ छ । महिला पनि घर बनाउन सक्छन् र बलियो होला र भन्ने सोचाइ समाजमा रहेकाले आफ्नो सिप बाहिर देखाउन नसकेको उहाँको दुखेसो छ । महिलालाई अझै पनि विश्वास नगर्ने र आफू सँग सिप भए पनि अझै सिप लिने चासो आफूमा हुँदा समेत हाल सम्म कुनै निकायबाट तालिम नपाएको उनको गुनासो छ ।
सरकारी तथा गैरसरकारी तवरबाट आफूजस्तो गरिखाने महिलाहरूलाई पहिचान गरी तालिम दिनुका साथै आवश्यक सामग्री प्रदान गरे अघि बढ्ने बाटो खुल्ने थियो’उनी गुनासो गर्छिन् ,‘ तर त्यता कुनै नेताहरूको ध्यान गएको छैन ।’
गरिब परिवारमा जन्मिएकीले उनले पढ्ने मौका पाइनन् । ‘त्यो बेला हाम्रो समुदायमा पढ्ने-पढाउने नौलो कुरा हुन्थ्यो,अहिलेको जस्तो थिएन ’ उनी दुखेसो पोख्छिन् ‘आफ्नो बाबुआमा गरिबीले त्यो बेलो छोराछोरीलाई पढाउन सकेनन् ।’
४६ बर्सिया बोहराका उनका १ छोरी र २ छोरा छन् । उनीहरूलाई पढाएर ठुलो मान्छे बनाउने उनको सपना थियो । तर, गरिबीले बढाउन सकिएन । छोराहरू रोजगारीको लागी अहिले भातमा रहेका छन् । एक जना बुहारी र नातिनीको साथमा उनी अहिले मस्टा गाउँपालिका वडा नम्बर ५ मा बस्दै छिन् ।

उनको गुनासो यती छ, मिस्त्री काम सिक्न सक्नेले पहिला विद्यालय भइदिएको भए पनि अक्षर पनि सिक्न सक्ने थिए । खानकै लागि भए पनि काम गर्नुपर्छ’ उनी भविष्यको चिन्ता गर्छिन् । उनी वडा नम्बर ५ कि वडा सदस्य पनि रहेकी छन् । उनले अहिले घरको पर्खाल चिन्ने र घरायसी काम गरेर नातिनी खेलाएर दिन बिताइरहेकी छन् ।
१० वर्ष अगाडि नै उनमा डकर्मीको सीप थियो । तर त्यो काम महिलालाई दिने मान्छे भेट्नचाहिँ निकै मुस्किल पर्थ्यो । ‘तर, अहिले ठिक उल्टो भएको छ ।’ अहिले घर बनाउने काम पाइने थियो तर उमेरले नसक्ने भयो ।
विकास निर्माणमा महिला ः काम एउटै भए पनि ज्यालामा विभेद
जिल्लामा मजदुरी गर्ने महिलाको संख्या पछिल्लो समय बढ्दै छ । गाउँका अधिकांश पुरुष कामको खोजीमा भारत तथा खाडी मुलुकमा जाने भएकाले मजदुरीमा महिलाहरू नै अग्रसर हुन थालेका हुन् ।
आफूहरूले पुरुष जतिकै काम गरेपनि ज्याला रकममा भने विभेद गरेको महिलाहरूको गुनासो छ। हामी पनि पुरुष जत्तिकै दैनिक आठ घन्टा काम गर्छौँ, तर पारिश्रमिक पाउँदा पुरुषको तुलनामा कम पाउँदै आएका छौं,’ स्थानीय राम कुमारी बोहराले दुखेसो पोखिन्।
मिस्त्रीभन्दा मजदुरको पारिश्रमिक कम हुने र आफूहरुलाई पनि उनीहरू बाराबरकै पारिश्रमिक हुनुपर्ने स्थानीय गीतादेवि नेपालीले माग गरिन्।
‘मजदुरी गरेर साँझ बिहान खानाको जोहो गर्नुपर्ने हुन्छ । यसबाटै परिवारको खर्च र छोराछोरीको पढाइ खर्च धान्नुपर्ने हुछ। तर, पुरुषको तुलनामा कम पैसा पाउँदा दुःख लाग्छ,’ उनले भनिन्। लैंगिक समानताका लागि नियमहरू बनेका भए पनि तिनको कार्यान्वयन प्रभावकारी नभएको महिलाहरु बताउँछन्।
महिला सशक्तीकरणबारे जति चर्चा भएपनि यथार्थमा भने महिलाका लागि खासै धेरै परिवर्तन नभएको महिलाहरूको गुनासो छ।
प्रधामन्त्री रोजगारमा समान ज्याला
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवाहरूलाई दैनिक ज्यालादारीको रोजगारी दिएको छ । बेरोजगार भई फाराम भरेका युवालाई अहिले विभिन्न वडाले अल्पकालीन योजनाका काममा रोजगारी प्रदान गरेका हो ।
बेरोजगार युवालाई एक महिनाका लागि दैनिक ज्यालादारीमा सडक मर्मत, नाली सरसफाइ, ग्रामीण खानेपानीको कार्य, स्वास्थ्य, कृषि, वन वातावरण, पर्यटनको क्षेत्रमा श्रममा रोजगारको अवसर प्रदान गरिएको छ। जसमा काम गर्ने पनि अधिकाश महिला नै रहेका छन्। यसमा भने ज्याला समान रहेको बताइएको छ।
दीर्घकालीन योजना नभएकाले सडक मर्मत, बाटो सरसफाइ र कुलो बनाउने कार्यमा युवालाई रोजगारीको अवसर दिइएको जनाइएको छ । छोटो समयमा रोजगारका लागि काम पूरा गर्नुपर्ने भएकाले दीर्घकालीनभन्दा अल्पकालीन योजनामा रोजगार दिइएको हो।
































