मुलुक बनाउने दृढ संकल्पको खाँचो

Image
Nisarga Hospital

एउटा पुस्ताले देश बनाउन आफ्नो जिवनको अमुल्य समय र शक्तिलाई खर्च गरेमा भावी पुस्ताले पक्कै पनि देश बनेको पाउँनेछन् । देश बनाउनका लागि त्याग ,समर्पण , दृढ अठोट र संकल्पको खाँचो पर्दछ ।

CP Hospital Dhangadhi

हाम्रो मुलुक आज त्यही दृढ संकल्पको खडेरीबाट गुज्रिरहेको छ । मुलुक र जनताको अग्रगामी हित लाई ध्यानमा राखेर दुरदर्शी सोचका साथ देशका लागि काम गर्ने कुशल व्यक्ति तथा पात्रको अभाव मुलुकले सामना गरि रहेको छ ।

देशलाई आर्थिक सामाजिक रूपान्तरण सहित उच्च आर्थिक वृद्धि सहितको समुन्नत मुलुकमा रूपान्तरण गर्न सक्ने सामर्थ्य भएको एउटा कुशल पात्र नभेटिदा मुलुकले दशकौ अभाव, संकट र समस्याहरू संग जुधिरहनु परेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कुशल नेतृत्व र मुलुक निर्माण गर्ने अविछिन्न दृढ संकल्पको खाँचोमा देशले मात्रै नभई जनताले समेत वास्तविक परिवर्तनको अभास नगरी आफ्नो पुस्ताको अन्त्य हुनुपर्ने तितो यथार्थ भोग्नु परेको छ ।

हाम्रो पुर्खाले आधुनिक हातहतियार र प्रशिक्षित लडाकु भएको अङ्ग्रेज सँगको भिषण लडाईमा समेत विजय प्राप्त गर्दै बिरासत जोगाएको मुलुकमा हाल सम्म आईपुग्दा समेत गरिबी ,बेरोजगारी ,सामाजिक विभेद, अशिक्षा लगायतका दर्जनौ मुलभुत समस्याहरू बाट माथी उठ्न नसक्नुमा मुलुक बनाउने दृढ संकल्पको खाँचो रहेको देख्न सकिन्छ।

मुलुकमा शासन व्यवस्था र राजनीतिक परिवर्तनका लागि जहानिया राणा शासन, पञ्चायती व्यवस्था र सक्रिय राजतन्त्रका बिरूद्द विभिन्न संघर्षका चरणहरू पार गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अवलम्बन गरिएको भए पनि सबै वर्ग ,क्षेत्र तथा समुदायको सार्थक सहभागीता नभई केहि सिमित व्यक्तिहरूले मात्रै लाभ लिएको अवस्था विद्यमान नै रहेको छ । जसका कारण मुलुकले गतिशिल विकास, समृद्धि र उन्नयनमा आफुलाई दौडाउन सकिरहेको छैन ।

केहि निश्चित वर्गले मात्रै मुलुकको शासन सत्तामा बारम्बार कब्जा जमाई आफु र आफ्नो नातागोता तथा आफन्तको साघुरो घेराभित्र मात्रै सिमित रहँदा देश र जनताको लागि काम गर्ने अवस्था कहिल्यै नहुने हुँदा शासन व्यवस्थामा केहि समयका लागि परिवर्तन ल्याइए पनि जनता र मुलुकको विकास र समृद्धिको चाहना तुहिनु स्वभाविक नै मानिन्छ।

शासन व्यवस्थामा आएको परिवर्तन सँगै आम जनताको जिवनस्तर, मुलुकको आर्थिक अवस्था ,स्थिति र तिव्र विकासको चाहनालाई सम्बोधन गर्दै समकक्षी एसियाली मुलुकहरूले छोटो समयमै हासिल गरेको तिब्र आर्थिक विकासको उपलब्धिलाई हामीले पनि अवलम्बन गरेको भए देशले पक्कै पनि विकसित मुलुकको सुचिमा आफुलाई दर्ज गर्दै सुखी र खुशी नेपाली भएको देख्न र भोग्न पाईथ्यो । तर दुर्भाग्य राजा महेन्द्रले पञ्चायतकालिन समयमा स्थापना गरेका दर्जनौ उद्योग र कलकारखानालाई निजिकरणका नाममा कौडीको भाउमा बिक्री गर्दै मुलुकको तिब्र आर्थिक विकासको चाहनालाई पहिलो खुट्किलामै थला पारिएको थियो । जसको नेतृत्व प्रजातन्त्रको पुनर्स्थापना पश्चात नेपाली काँग्रेसले गरेको थियो । जसले अहिले पनि प्रजातान्त्रिक समाजवादका नाममा विपिको नाम बेच्दै देश र जनतालाई ठगि रहेको छ ।

कवि भुपि शेरचनले कवितामा

“हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए ,

बन्दैन मुलुक दुईचार सपुत मरेर नगए” भने जस्तै मुलुकको व्यवस्था परिवर्तनका लागि दुईचार मात्रै नभई हजारौले जिवनको आहुती लगाए पनि देशले काँचुली फेर्न नसक्नुको पछाडी मुलुक बनाउने दृढ संकल्पकै खाँचो थियो । जुन कुरा विगत ,वर्तमान र भविष्यले समेत देखाई रहने छ ।

राजा महेन्द्रको संकल्प :

राजा महेन्द्रले वि.सं. २०१९ सालमा शासन व्यवस्था सम्हाले पश्चात २०२८ सम्म शासन गर्दा थुप्रै कामहरु भए । विशेष गरी राष्ट्रिय हित र राष्ट्रिय स्वाधिनतालाई लागि धेरै ठुलो काम गरे । राजाको निजि सल्लाहकार भारतीय प्रनिधिनि रहने, मन्त्री परिषदमा भारतीय प्रतिनिधि रहने, संसदमा भारतीय प्रतिनिधि रहने, सिमामा भारतीय सेनाको चेक पोष्ट हटाए ।

त्यस्तै नयाँ मुलुकी ऐन आयो, जाती छुवाछुत विरुद्ध कानुन बने, थुप्रै पुर्वाधारको विकास भए, भूमि सुधार ऐन २०२१ जारी गरियो । नागरिकता सम्बन्धी व्यवस्थालाई राष्ट्रिय हित अनुकुल बनाईयो, सेनालाई आधुनिकिकरण गरियो, विदेशी मुलुकसित नयाँ सम्बन्ध स्थापित गरियो, त्यस्तै वि.सं २०२४ मा गाऊँ फर्क राष्ट्रिय अभियान चलाईयो, नेपालमा भारतीय मुद्रा प्रयोगको अन्त्य गराईयो । यसरी राजा महन्द्रले शासन गर्दा राष्ट्र हित र पूर्वाधार विकासमा पुर्व पश्चिम राजमार्ग,

कलकारखाना र उद्योगको स्थापना र संचालन जस्ता थुप्रै कामहरु गरे । तसर्थ राजा महेन्द्रको शासनकाललाई नेपालको ईतिहासमा राजा पृथ्वीनारायण शाह पछिको सफल राजा मानिन्छ । उनको शासन कालभन्दा अघि हुन नसकेका कामहरु त्यतिखेर भए ।

राजा महेन्द्रकै कारण ईन्डियाले नेपाललाई पराधिन बनाउन सकेन् । ईन्डिया बेलायती उपनिवेशबाट स्वतन्त्र भए लगत्तै ईन्डियाले दक्षिण एसियाको मुलुकहरुलाई आफूमा विलय गराउन प्रयत्न ग¥यो । सन् १९७१ मा सिक्किमलाई आफूमा विलय गरायो भने १९७५ मा पाकिस्तानलाई टुक्रायो । यसरी भुटानलाई पनि अर्धऔपनिवेशिक अवस्थामा पुरायो । तर नेपाललाई भने सकेन्,। यी सबैका पछाडी राजा महेन्द्रको मुलुक बनाउने दृढ संकल्प एवं राष्ट्रवादी चिन्तनले काम गरेको थियो ।

वर्तमान राजनैतिक दलहरूको संकल्प :

राजनीति मुलुक सञ्चालनको मुख्य निति हो । वर्तमान समयको राजनीतिले मुलुकको भाग्य र भविष्य निर्धारणमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ।

 हाम्रो मुलुकका वर्तमान राजनैतिक दलहरू मध्येका प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा एमाले ,नेकपा माओवादी लगायतका प्रमुख दलहरूको उदय र यीनको मुलुक बनाउने चिन्तनको विश्लेषण गर्नु आवश्यक देखिन्छ।

नेपाली काँग्रेस, एमाले र माओवादीको निर्माण ,संरक्षण र सञ्चालनमा छिमेकी मुलुक भारतको महत्त्वपुर्ण देन रहेको पाइन्छ। यि सबै दलहरूको स्थापनामा भारतले लगानी गरेर पालन पोषण गरि हुर्काएको हुँदा यिनले नेपाल र नेपालीको विकास र समृद्धिका लागि काम गर्ने अवस्था नै हुँदैन। कोइराला परिवार लगायत केहि कार्यकर्ताहरूलाई संरक्षण गर्दै काँग्रेस गठन गरियो । त्यस्तै पुष्पलाल लगायतका कार्यकर्ताहरूलाई संरक्षण गर्दै कम्युनिष्ट पार्टी गठन भयो । पछिल्लो समय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई अगाडी सारेर माओवादी गठन गर्दै त्यसको संचालन र संरक्षणको काम समेत पुरै भारतको ले नै गरेको थियो ।जनयुद्ध कालीन समयमा अधिकांश उच्च तहका माओवादी नेता कार्यकर्ताहरूको आश्रयस्थल नै भारत थियो । जुन कुरा तत्कालीन समयमा नेता कार्यकर्ताहरू पक्राउ परेको र युद्धका लागि आवश्यक हातहतियारको बन्दोबस्त समेत भारतले नै गरिदिएका तथ्यहरूले पुष्टि गर्दछ ।

प्रजातन्त्र पुनर्स्थापना पश्चात लामो समय मुलुकमा सरकार नेतृत्व काङ्ग्रेस गर्यो । जुन समयमा भुकुटी कागज कारखाना,हरिसिद्धी इटा टायल, बाँसबारी छाला जुत्ता उद्योग,बालाजु कपडा उद्योग ,बिटुमिन तथा ब्यारेल उद्योग,रघुपति जुट मिल ,नेपाल चिया विकास निगम जस्ता दर्जनौ उद्योगहरूको बिक्री वितरणमा नेपाली काँग्रेस नेतृत्वको सरकारको प्रत्यक्ष संलग्नता रह्यो । जसको कारण मुलुकको विकासमा दिर्घकालिन असरहरू देखा परे । विस्तारै उद्योग तर्फ आत्मनिर्भर बन्दै गरेको मुलुकको सपनालाई चक्नाचुर पारियो । नेपाली काँग्रेस नेतृत्वको सरकारले गण्डकी,कोशी र महाकाली जस्ता आफ्ना जल सम्पदाहरूलाई छिमेकी मुलुक भारतलाई सहज रूपमा हस्तान्तरण गर्न अनुकूल हुने गरि सन्धि सम्झौताहरू गरिए जसले मुलुकको आर्थिक रूपान्तरणमा मात्रै नभई सारभौमिकता र राष्ट्रियतामा समेत दिर्घकालिन असरहरू पर्न देखा परे ।

भारतीय नाकाबन्दीको समयमा भारतको चर्को बिरोध गर्दै उग्र राष्ट्रवाद देखाउँदै एकाएक उदाएको एमालेलाई ओलीले जनताले मुलुकलाई रूपान्तरण गर्दै जनताको स्थिति र अवस्थामा सुधार गर्ने जिम्मेवारी सुम्पिदा सुम्पिदै दुईपटक असंवैधानिक तरिकाले संसद विघटन गर्दै मुलुकको रूपान्तरण र विकासमा एमाले कति संवेदनशील र जिम्मेवार छ भन्ने घाम जस्तै छर्लङ्ग पारी दिएको छ ।

माओवादी जनयुद्धले जनताको अधिकार स्थापित गर्ने र मुलुकको राजनैतिक आर्थिक र सामाजिक रूपान्तरणका क्षेत्रमा पुनर्जागरण ल्याए पनि पछिल्लो एक डेढ दशकको माओवादी पार्टी र यसका कार्यकर्ताको व्यवहार, सोच ,गतिविधीहरूलाई नियाल्दा देशको आमुल परिवर्तन ,विकास र समृद्धिमा सिन्को भाच्ला जस्तो लाग्दैन् । सत्ता लक्षित मात्रै देखिन्छ।

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी समेत गर्भैबाट कुपोषित भए जस्तै विभिन्न खालका विवाद र आरोपहरूमा मुछिनुले यीनीहरूबाट समेत देश बन्ला र बनाउँलान भन्ने झिनो आशा माथी पुनः तुसारापात भएको छ ।

वर्तमान राजनैतिक दलहरूमा राष्ट्रिय विकास प्रतिको चिन्तन, मुलुकको समृद्धिको सपना र रूपान्तरणकारी बिचारको सुन्यताका कारण मुलुकले चाँडै नै अवस्था परिवर्तनको मार्गमा प्रवेश गर्ला र विकासको चाहनाले लाई मुर्त रूप पाउला भन्ने अवस्था छैन ।

उच्च पदस्थ कर्मचारीहरूको संकल्प:

स्थायी सरकारको प्रतिनिधित्व गरी राज्य संचालनको गतिविधिमा संलग्न उच्च पदस्थ कर्मचारीको मुलुक निर्माण प्रतिको संकल्प कतिको छ भन्ने कुराको समेत लेखाजोखा हुनु आवश्यक छ ।

मुलुकको रूपान्तरण र विकासमा एकतर्फी रूपमा राजनैतिक नेतृत्वको मात्रै संलग्नता नभई उच्च पदस्थ कर्मचारीहरूको समेत महत्त्वपूर्ण भुमिका र योगदान रहने गर्दछ ।

हाम्रो मुलुकका नक्कली भुटानी शरणार्थी प्रकरण ,मेलम्ची आयोजना , बालुवाटार जग्गा हिनामिना प्रकरण, सुचना प्रविधि संग सम्बन्धित ठेक्का सम्झौता प्रकरण लगायत पछिल्ला घटनाक्रमहरूले उच्च पदस्थ कर्मचारीहरू देश र जनताका लागि नभई आफ्नो लागि मात्रै काम गरिरहेका छन् भन्ने भाष्य सिर्जना भएको छ ।

धेरै उच्च पदस्थ कर्मचारीहरू आफु गैरकानुनी कार्यमा संलग्न भई राज्यको स्रोत साधनको दोहन गर्ने र आफ्नो भावी पुस्तालाई राम्रा बाह्य मुलुकका वेल सेटल गर्नेमा केन्द्रित देखिन्छन् । अधिकांश उच्च पदस्थ कर्मचारीहरू सचिव, सहसचिव, डाक्टर, न्यायाधीश, प्राध्यापक, इन्जिनियर लगायतका छोराछोरीहरू नेपालमा छैनन् । यी सबैका छोराछोरीहरू अमेरिका ,बेलायत, अस्ट्रेलिया लगायत विभिन्न युरोपका देशहरूमा सेटल हुने चरणमा रहेका छन् । यी यस्ता अवस्थाका उच्च पदस्थ कर्मचारीहरू बाट देशले केहि पाउँछ भन्ने सोच्नु आफैमा गलत सावित हुने स्थिति छ । धेरै सङ्ख्यामा उच्च पदस्थहरू बाट देश जोगाउनुपर्ने स्थिति उत्पन्न भएको जस्तै लाग्छ ।

हामी राणा शासनका बिरूद्द लडिरहँदा छिमेकी मुलुक भारत आफै स्वतन्त्रताका लागि लडिरहेको थियो । त्यही समयमा छिमेकी मुलुक चीनमा जनवादी शासन व्यवस्थाका लागि माओले क्रान्तिको शुरूवात गरेका थिए ।

 हामी प्रजातन्त्रका लागि लडिरहँदा महाथिर मोहम्मद मलेसियाको विकासको नेतृत्व गर्दै समृद्ध मलेसिया बनाउने अभियानको नेतृत्व गर्दै थिए । त्यही समयमा दोस्रो विश्वयुद्धको प्रभावले थला परेको सिङ्गापुरलाई नेतृत्व लिन लि क्वान अघि सरेका थिए । त्यो समयमा सिंगापुर एसियाकै गरिब मुलुकको सूचिमा थियो। तर हाल सिंगापुरलाई विकासको एउटा मोडेलको रुपमा सारा विश्वले आत्मसात गरि रहेको छ ।

हाल चीन र भारत विश्व अर्थतन्त्रको अग्रणी नेतृत्वमा आफुलाई सावित गर्ने दौडमा छन् । सिङ्गापुरले विश्वलाई विकासको मोडेल सिकाउदैछ । मलेसियाले तिब्र आर्थिक विकासमा आफु स्थापित हुन खोजिरहेको छ । तर हाम्रो मुलुकको अवस्थामा भने कुनै सुधार नहुनुका पछाडी दृढ संकल्पको खाँचो छ भन्ने हो ।

माओको दृढ संकल्पले चीन बन्यो । गान्धी नेहरू र सुवास चन्द्र बोसहरूको दृढ संकल्पले भारत बन्यो । महाथिर मोहम्मदको दृढ संकल्पले मलेसिया बन्यो । लि क्वानको दृढ संकल्पले सिङ्गापुर बन्यो ।

देशमा प्रचुर प्राकृतिक स्रोत साधन, तिव्र विकासको चाहना , प्रसस्त श्रमयोग्य जनशक्ती, विकासका लागि भर्जिन ल्याण्ड, सामाजिक सांस्कृतिक सद्भाव युक्त सामाजिक सम्बन्ध, प्राकृतिक सौन्दर्यता,भूराजनीतिक अवस्था लगायतका दर्जनौ सम्भावनाहरू लाई नकार्दै मुलुक बनाउने दृढ अठोट तथा संकल्पको अभावमा विश्वको सुन्दर मुलुक नेपाल सधै विकासको उपेक्षामा परेको छ ।

राजा महेन्द्रले जस्तै मुलुकको विकासका लागि काम गर्ने र देशलाई अग्रगमनको बाटोमा डोर्याउदै उच्च आर्थिक वृद्धि सहितको जनतालाई गुणस्तरीय जिवनयापनको अवसर सिर्जना गराईदिने राष्ट्रिय संकल्पको खाँचो छ । राजनैतिक दलहरूले सत्ताको लुछाचुडी बाट बाहिर निक्किई मुलुक र जनताको बहत्तर हितका लागि आर्थिक उन्नयन तर्फ मुलुकलाई डोर्याउदै विश्व अर्थ जगतमा नेपालले उदियमान प्रगति हासिल गर्दै नया  इतिहास निर्माणका लागि तयार हुनुपर्छ ।

राष्ट्र सेवकका रूपमा रहेका कर्मचारी , सोसियल इन्जिनियरका रूपमा रहेका अन्य व्यक्तित्व, आर्थिक विकासको नेतृत्व गर्ने उद्योगपति , असल नागरिक भएर मुलुक भित्र रहेका सबै जनताको समृद्ध र समुन्नत नेपाल निर्माणका लागि एक मात्र दृढ संकल्प समृद्द मुलुक बनाउने हुनु जरूरी देखिन्छ।

विगतमा हामीले लामो समय राजनैतिक व्यवस्था परिवर्तनका लागि पटक पटक आन्दोलन र बिद्रोदहरू गर्यौ तर मुलुकको आर्थिक विकासका लागि कहिल्यै बिद्रोद र आन्दोलन गरिएन । अबको हाम्रो बिद्रोद र आन्दोलन नै आर्थिक विकासको नेतृत्व गर्दै मुलुकको आर्थिक रूपान्तरण मात्रै हुनुपर्दछ। जुन आजको मुख्य खाँचो तथा आवश्यकता र आम नेपालीको चाहना पनि हो ।

Dhnagadhi & Krishanapur