इजरायलमा नेतान्याहुको गठबन्धनले गुमायो बहुमत, सरकार गठनमा अरब दल निर्णायक

Image
Nisarga Hospital

इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै विदेशी हस्तक्षेप र मतदानमा अनियमितता भएको आरोप–प्रत्यारोप सुरु भएको छ। नेतान्याहुको पार्टी लिकुडले अरब नेतृत्वका राजनीतिक दलमाथि निर्वाचनमा भोट चोरी गरेको आरोप लगाएपछि विवाद थप चर्किएको हो।

CP Hospital Dhangadhi

निर्वाचनको अन्तिम परिणामअनुसार १२० सदस्यीय इजरायली संसद् नेसेटमा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ भने प्रमुख विपक्षी नेता गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट जितेको छ। अरब समुदायको प्रतिनिधित्व गर्ने दुई राजनीतिक समूह जोइन्ट लिस्ट र रामले संयुक्त रूपमा १९ सिट जितेका छन्। यो अरब नेतृत्वका दलहरूको संसद्मा अहिलेसम्मकै ठूलो प्रतिनिधित्व हो।

कुनै पनि गठबन्धनले बहुमतका लागि आवश्यक ६१ सिट प्राप्त गर्न नसकेपछि सरकार गठनमा अरब दलहरूको भूमिका निर्णायक बनेको छ। विपक्षी नेता आइजेनकोटका लागि पनि अरब दलसँग सहकार्य गरेर सरकार गठन गर्ने सम्भावित राजनीतिक बाटो देखिएको छ।

यसैबीच, नेतान्याहुको पार्टी लिकुडले अरब दलहरूले मतदातालाई मतदानका लागि आर्थिक प्रलोभन दिएको आरोप लगाएको छ। कतार र टर्कीबाट ती दललाई अवैध आर्थिक सहयोग प्राप्त भएको हुन सक्ने आशंकामा इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेटले अनुसन्धान थालेको बताइएको छ।

तर, दुवै अरब दलले निर्वाचनमा अनियमितता भएको आरोप अस्वीकार गरेका छन्। अरब समुदायको बहुमत रहेको जोइन्ट लिस्टले आरोपलाई निराधार भनेको छ। इजरायलका प्रमुख विपक्षी नेता गादी आइजेनकोटले पनि निर्वाचनपछि राजनीतिक वातावरण प्रभावित पार्ने प्रयास भएको भन्दै नेतान्याहुको आलोचना गरेका छन्।

कतारको विदेश मन्त्रालयले पनि आफूहरूमाथि लगाइएको आरोपलाई ‘हास्यास्पद र खतरनाक’ भन्दै अस्वीकार गरेको छ। कतारले इजरायली राजनीतिज्ञहरूले आफ्नो देशविरुद्ध दुष्प्रचार अभियान चलाएको आरोपसमेत लगाएको छ।

इजरायली सञ्चारमाध्यमका अनुसार कतारले अरब समुदायको मतदान सहभागिता बढाउन आर्थिक सहयोग गरेको दाबी निर्वाचन समितिसमक्ष प्रस्तुत गरिएको थियो। यद्यपि, केन्द्रीय निर्वाचन समितिका कार्यवाहक महानिर्देशक डिन लिभ्नेले निर्वाचनमा अनियमितता भएको आरोपको कुनै आधार नरहेको बताएका छन्।

नेतान्याहुका आलोचकहरूले विदेशी हस्तक्षेपको आरोपलाई अरब नेतृत्वका राजनीतिक दलहरूको वैधता कमजोर पार्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। निर्वाचन परिणामपछि सुरु भएको आरोप–प्रत्यारोपले इजरायलमा नयाँ सरकार गठनको प्रक्रिया थप जटिल बन्न सक्ने देखिएको छ।