पाटन हत्या प्रकरण: थप एकजना पक्राउ

Image
Nisarga Hospital

बैतडी:बैतडीको पाटन नगरपालिका ६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले थप एकजनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा पाटन नगरपालिका ६ का २६ वर्षीय आशिष पहरी (पुन्टु) रहेका छन्।

CP Hospital Dhangadhi

उनलाई पाटन नगरपालिका- ५ कुवापानी जंगलबाट बुधबार बिहान भागिरहेकाे अवस्थामा पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिनुभयाे।

पुन्टुसहित विरभानका आफन्तले पाँचजनाविरुद्ध किटानी जाहेरी दिएका त्यसपछि मंगलबार जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धि मुद्दा दर्ता गरिएको थियोे ।

nawajiwan

मुद्दा दर्ता भएकामध्ये सबै पाँचजना पक्राउ परिसकेकाले अनुसन्धान गर्न प्रहरीलाई सहज भएको छ।
यसअघि पाटन नगरपालिका ६ की ३६ वर्षीया भागरथी विष्ट, पाटन नगरपालिका १ का राजेन्द्र भट्टराई र किशोर भट्टराई र पाटन नगरपालिका ६ कै भरतमोहन विष्टलाई पनि नियन्त्रणमा लिएकाे थियाे।

पक्राउ परेकामाथि प्रहरीले अदालतबाट ५ दिनकाे म्याद थपेर अनुसन्धान भइरहेकाे जनाएको छ।

Attariya Hospital

असार १ गते शनिबाररातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका ६ स्थित घाङल खोलामा फेला परेको थियो ।
भागरथीले विरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरु भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । भागरथी सहस्त्रलिंग आधारभूत विद्यालयकी शिक्षिका हुन्। भने मृतक ट्रक चालक रहेका थिए।

असार १ गते राति नै विरभानको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको प्रहरीले जनाएको छ । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरमा राखिएको र त्यसपछि पक्राउ परेका अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको प्रहरीले जनाएको छ ।

हत्याको कारण पूर्ण रूपमा खुलिनसकेको भएपनि रातिको समयमा घरमा आएर अपशब्दहरू प्रयोग गरेपछि सहन नसकेर चिरपटले हानेर हत्या गरेको भागरथीको बयान रहेकाे प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।