
डोटी : डोटीमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा पूर्वीचौकी ६ गाँजरीका वर्ष ३३ का राम बहादुर साउँद र वर्ष ४२ का दिल्ली बहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले नजर अनलाइनलाई जानकारी दिए ।
धानबारीमा लुकेको अवस्थामा राती करिब १० बजेतिर डोटीको नारीदाङ भन्ने ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको कोइरालाले बताए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याईएको र विस्तृत अनुसन्धान अगाडि बढाइएको छ ।

शुक्रबार बिहान करिब ११ बजेतिर जंगली बदेल मार्ने क्रममा पुर्वीचौकी गाउँपालिका ६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापालाई गोली लागेर घटना स्थलमै ज्यान गएको थियो ।
स्थानीय घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्ने क्रममा थापालाई गोली लागेको थियो ।
मृतक थापा पनि सोही समूहमा सिकार खेल्न गएको बुझिएको र बाँकी जानकारी अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ ।
घटनामा संलग्नहरुलाई कानुनी कारवाही गरिने प्रहरीले जनाएको छ ।































