
डोटीः सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा डोटीबाट निर्मला साउँद नियुक्त भएकी छन् । उनले सोमबार सपथ ग्रहण सहित जिम्मेवारी पनि सम्हालिसकेकी छन् ।

हिजो आइतबार मात्रै नेपाली काँग्रेसका नेता कमल बहादुर शाह दोश्रो पटक मूख्यमन्त्री नियुक्त भए । आज मात्रै मूख्यमन्त्री शाहसँगै ६ जना मन्त्री र ३ राज्यमन्त्रीले सपथ ग्रहण सहित जिम्मेवारी सम्हालेका छन् ।
जसमा नेपाली काँग्रेसका तर्फबाट आर्थिक मामिला मन्त्रीमा बहादुर सिंह थापा, सामाजिक विकास मन्त्रीमा मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्काले जिम्मेवारी पाएका छन् ।

यता एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र बहादुर पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा बिर बहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउँदले जिम्मेवारी पाइन् ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् ।
मुलूकका दुइ ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसबिच केन्द्रमा बनेको नयाँ सत्ता समिकरणको असरपछि नेकपा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार ढल्यो । एमालेले गत असार २० मा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो । त्यसको करिब एक महिनापछि श्रावण १८ गते मात्रै मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा दिएसँगै सोमबार मात्रै नयाँ सरकार बनेको छ । जुन सरकारमा डोटीले निर्मला साउँदलाई राज्यमन्त्रीका रुपमा पाएको छ ।
यस्तो छ राज्यमन्त्री साउँदको पृष्ठभूमि ?
अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नं. ३ डुङ्ग्रीमा बुबा जय बहादु साउँद र आमा देउमती साउँदको कोखबाट वि.सं. २०३६ फाल्गुन २६ गते निर्मला साउँदको जन्म भएको हो ।
ग्रामीण परिवेशमै सुखमय बाल्यकाल बितेको उनी सम्झन्छिन् । आफु परिवारमा छोरी भएर जन्म लिएपछि समाजको भन्दा उनको फरक अनुभव रहेको छ । उनका बुबाका ३ भाइहरुबाट जन्मिएका दाजुभाईमध्येमै उनि एक्ली बहिनी हुन् । यसर्थ आफुले बाल्यकालमा सबैबाट धेरै माया पाईएको उनी सुनाउँछिन् । ‘आमाबुबाले पनि लगातार ४ छोराहरु मात्रै जन्मेकाले छोरी जन्मिदिएको भए हुन्थ्यो भन्ने इच्छा राखेकोमा सोचे अनुसार नै आफु जन्मेको दिन निकै खुशी भएको आमा बुबाले बेला-बेलामा सुनाउँथे’–उनले भनिन् । अगाडि ४ दाजुपछि उनी र त्यसपछि एक भाइ हुन् ।
६ वर्षको उमेरमा स्कुल पढ्न शुरु गरेपछि लगातार ६ कक्षासम्म पढेंकी उनले त्यसपछि गाउँ नजिक विद्यालय नहुँदा डेढ घण्टाको बाटो हिडेर जानुपर्ने बाध्यता हुनाले थप पढाईलाई अगाडी बढाउन सकिनन् । विशेष गरी छोरी मान्छे भएका कारण त्यती लामो बाटोमा छोरीलाई कुनै घटना हुनसक्छ भन्ने आमाबुबाको डरले उनको पढाई रोकिन पुगेको रहेछ ।
हाम्रो समाजमा छोराको तुलनामा छोरीलाई खानेकुरा, लगाउने लुगा, शिक्षा दिक्षा, काममा विभेद गर्ने गरिन्छ । तर उनको भोगाईमा ठिक उल्टो दाजुभाईहरुलाई विभेद भएको उनले हाँस्दै सुनाइन् ।
‘म जन्मे हुर्केको सामाजिक अवस्था हेर्दा आमा, दिदि, भाउजुको सामाजिक अवस्था विभेदपूर्ण थियो । महिलाले घरायसी काममा मात्रै लाग्नुपर्ने बाध्यता, छाउपढी विभेद, आर्थिक विभेद स्वास्थ्य, शिक्षा, खानपिन, बाल विवाह, बहु विवाह लगाएतका समस्या झेल्नुपर्ने थियो । यद्यपी घरायसी काममा पुरुषहरुले पनि काममा सघाउने गरेको पाइन्थ्यो । गाउँमा महिला पुरुषबिच समान कामको समान ज्यालाको विषय भने खासै सम्झना छैन । मेरो माइती ठाउँमा अहिले पनि खासै विकास हुन सकेको छैन भने मेरो पोइली घरमा पहिले पहिले श्रीमानले नेकपा एमालेको राजनीतिमा संलग्न भएकै कारण मैले अन्य महिलाबाट पार्टीगत रुपमा दवावमा बस्नुपर्ने अवस्था थियो । यस खालको परिवेशमा हुर्केको म सानो छँदा भविष्यमा के बन्छु भन्ने कुनै कल्पना गरेको थिएन ।’
उनि थप्छिन् –‘कक्षा ६ सम्म मात्रै पढेको मैल उच्च शिक्षा हासिल गर्न सकेको भए केहि न केही गरेर जीवन चलाउन सजिलो हुने थियो भन्ने सोच थियो । तर त्यो चाहनामा बाध्यताको पर्खाल लाग्यो ।’
जीवनमा घर परिवार समाज कसैको दवावमा कृषि गरेर खान म सक्दैन भन्ने सानैदेखि सोचाई थियो । पढौला–लेखौला भन्ने सपना भने पूरा भएन । विहे भएपछि पनि खेती किसानी गरेर खाउँला भन्ने थिएन । आफ्नो १९ वर्षको उमेरमा पूर्वीचौकी गाउँपालिका वडा नं. ७ गजडाका मानबिरे साउँदसँग विहे भयो । घरमा विहेका लागि मगनी गर्न जाँदा आमा–बुबाले केटा पक्षको गाउँठाउँ र उमेरले ३५ वर्ष पुगिसकेको मान्छेलाई छोरी नदिने भनेर मन पराएका थिएनन् । तर विवाहपछि अन्य काममा नलगाएर व्यापारमा लाउँछु भनेपछि स्वयं मैले नै आमा बुबालाई म विहे गर्छु भनेर आफैले विहे गर्ने निर्णय गरेको थिएँ भन्दै उनी विगतलाई सम्झिन्छन् ।

श्रीमान्को सरल स्वभावका कारण मैले भगवानकै रुपमा लिन्छु । त्यसैले मेरो घरपरिवार वा मेरो वैवाहिक जीवन सन्तोषजनक नै छ । हाम्रो विहे भएको समयमा त्यो बेला गाउँमा महिलाहरु खासै पढेलेखेको पाइन्थेनन् । मैले कक्षा ६ सम्म पढेकाले व्यापारमा लगाउने श्रीमानको योजना त थियो, तर घरका देउरानी जेठानीहरुबाट यसले बसी–बसी व्यापार गरेर खाने, हामीले घरमा काम गर्ने कुरा हुन सक्दैन भन्दै पारिवारिक कुरा नमिल्दा मैले पनि व्यापार व्यवसाय गर्न पनि नपाएको उनले सुनाईन् । उनलाई व्यापार व्यवसायमा लगाउने उनका श्रीमान्कोे योजना भए पनि घरमा कुरो नमिल्दा तेरो श्रीमती जहाँ लगेर जसरी पाल्छस् भन्ने कुरा गरेपछि आफुले बाख्रा पालेर घरमा बसेको र श्रीमान काम गर्न भारततर्फ लागेका थिए । उनको विवाह हुनुपूर्व पनि उनका श्रीमानले १८ वर्षको उमेरदेखि ३५ वर्षको उमेरसम्म करिब १७ वर्ष भारत बसेर काम गरेका थिए ।
उनको घर गजडाको सुकिलीमाटी भन्ने ठाउँमा आफ्नै पहिलेदेखि नै सञ्चालन गर्दै आएको एउटा मिल थियो । संकटकालमा २०५७ सालतिर खै कसरी हो मिलमा आगो लाग्यो । त्यो मिल व्यवसाय पनि ठप्प भयो । त्यसपछि डोटी र अछामको सिमानामा पर्ने चौखुटे बजारमा निर्मला साउँदले किराना पसल गरिन् । तर व्यापारबाट घाटा भएर ३ लाख जति ऋणमा डुबिन् । त्यसपछि फेरी घरपरिवारमा वातावरण सहज भएन । व्यापार घाटाको ऋण तिर्न फेरि उनका श्रीमानले ३ वर्ष जति इण्डियामै बतिाए । त्यस अवधीमा कमाएको पैंसाले लागेको ऋण चुक्ता गरिसकेपछि वि.सं. २०७० सालदेखि अब म बाख्रा पाल्छु भनेर बाख्रापालनमा लागेको उनको संघर्षको कथा छ । त्यो समयमा गुड नेवर्स इन्टरनेशनल नेपालमार्फत गाउँमा सञ्चालन भएको कार्यक्रमबाट रु.३५ हजार अनुदान पाएर र बाख्रापालन गर्न सहयोग पुग्यो । बाख्रापालन गर्दै जाँदा ७० वटासम्म बाख्रा पालेको मेरो अनुभव छ । यस अवधीमा उनले छोराछोरीलाई बोर्डिङ्तिर पढाउँदै थिइन् । घर परिवार चलाउन पनि खासै अफ्ठ्यारो थिएन । विवाह गरेपछि श्रीमानको साथ सहयोगले वैवाहिक जिवनप्रति भने उनि सन्तुष्ट छन् ।
उनको राजनीतिक जीवनका सन्दर्भमा कुरा गर्दा राजनीतिबारे शुरुमा केहि पनि बुझेको भए पनि २०६४ सालमा संविधान सभाको निर्वाचनको बेला तत्कालिन एमालेका नेता हर्क बहादुर सिंह उम्मेदवार भएर आउनुभएको रहेछ । उनका श्रीमानलाई एमाले बनाएर चुनावमा एजेन्ट समेत बनाउनुभएको रहेछ । श्रीमान राजनीतिमा जोडिएको भए पनि ‘आफुलाई राजनीति ज्ञान र चासो नभएको उनी बताउँछिन् । वि.सं. २०७४ को स्थानीय तहको चुनावसम्म पनि आफ्नो एमालेका नेताहरुसँग खासै चिनजान नभएको र राजनीतिक सक्रियता पनि नभएको उनी सम्झन्छिन् । पूर्वीचौकी गाउँपालिकाका निवर्तमान अध्यक्ष दीर्घराज बोगटीसँग मितेरीको पारिवारिक नाता पनि पर्ने भएकाले उहाँसँग मात्रै चिनजान थियो ।
त्यसबिचमा उनलाई आफ्नै श्रीमानले राजनीतिमा लाग्नुपर्छ भन्दा रहर भनौं वा, दवाव भनौं वा सुझाव सम्झेर राजनीतितिर अलिकती रुचि राखेको उनी बताउँछिन् । यसका साथै गाउँमा आउने योजनाहरुमा पूरानो पार्टी नेपाली काँग्रेसका मान्छेहरुले कुनै–कुनै उपभोक्ता समितिमा आफुलाई पनि सदस्यदेखि कोषाध्यक्षसम्म बनाएपछि मुश्किलले घरबाट फुर्सद मिलाएर गाउँका केटाकेटीहरुलाई दिनको २/३ सय रुपैंया दिएर बाख्रा चराउन लाएर भए पनि उपभोक्ता समितिको काममा उनि जान्थिन् । तर श्रीमान एमालेको भएकै कारण काँग्रेसका मान्छेले आफ्नो वास्ता नगरी पेलानमा राख्ने गरेका कारण एमाले पार्टी नै महिलाको सम्मान गर्ने पार्टी रहेछ भनेर म पनि एमाले पार्टीमै लागे थिएँ’‘– उनको भनाइ छ । शुरुमा एमालेको सिद्धान्तका धेरै कुरा नबुझे पनि महिलालाई सम्मान गर्ने र काँग्रेसबाट आफु हेपिएपछि एमालेमै लागेको र एमालेले वास्तवमै महिलालाई पनि सम्मान दिएको उनको बुझाई छ ।
वि.सं. २०७४ सालको स्थानीय तहको पहिलो निवार्चनमा पूर्वीचौकी गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्षको टिकट लिएर निर्वाचित हुनुपूर्व पार्टीको कुनै पनि कमिटिमा उनि थिइनन् । तर पनि निर्वाचनमा सफलता हासिल गरेर पूर्विचौकी गाउँपालिका इतिहासमा पहिलो उपाध्यक्ष भएर काम गरिन् । उपाध्यक्षमा निर्वाचित भैसके यता घरपरिवार, समाजबाट पनि राम्रै सहयोग पाएको उनको बुझाइ छ । निर्वाचनको बेला प्रतिपक्ष र विरोधीहरुले आफुलाई बाख्रा पाल्नेवाला गोठाली के चुनाव जित्छ भनेर अपहेलना गरेको सम्झँदै पार्टीको बलले जनमत जुटेको र आफु निर्वाचित हुँदाको पहिलो सफलता र खुशीको क्षण उनि सम्झिन्छन् ।
यसबिचमा २०७५ सालमा एमाले र माओवादी एकता भएर बनेको नेकपाको पूर्वीचौकी गाउँपालिका कमिटिमा सचिवालय सदस्यका रुपमा आबद्ध भएको उनको पहिलो राजनीतिक पदीय जिम्मेवारी थियो ।
हाम्रो समाजमा महिलालाई राजनीति गर्न पारिवारिक, सामाजिक, आर्थिक लगाएत धेरै कारणले गाह्रो छ । गाउँ समाजका अन्य महिलाहरुले खुलेर बाहिर आउन सकिरहेका छैनन् । ती महिला दिदिबहिनीहरुलाई आफ्नो हक अधिकारका लागि राजनीतिमा आउन उनको सुझाव, आग्रह र अनुरोध छ । महिलाहरु घरमै कुण्ठित नभएर खुला संसारको अनुभव गरेर नेतृत्व गर्न राजनीतिमा आउनुपर्छ । पितृसत्तात्मक सोंच र समाजको दवावमा रहने प्राय महिलामाथि हिंसा भईरहेको छ । महिलाहरुले आफु आँट गरेर बाहिर नआएसम्म ठूलो होस् वा सानो रुपमा हिंसा भईरहने हुन्छ । त्यसैले महिलाहरु अगाडी बढ्न शिक्षामा जोड दिनुपर्छ । जनचेतना आवश्यक छ । महिलालाई आयआर्जनमा जोड्न आवश्यक छ । महिलाको चौतर्फी शशक्तिकरण आवश्यक छ र बनेका नीति नियमको व्यवहारिक कार्यान्वयन हुनु जरुरी रहेको उनको धारणा छ ।
यसरी संघर्ष गर्दै जाँदा उनले वि.सं. २०७७ सालमा तत्कालिन नेकपा विघटनपछि एमाले जिल्ला कमिटि सदस्यको जिम्मेवारी पाएर काम गरिन् भने २०७८ पुस २३ देखि २६ सम्म सम्पन्न एमाले डोटीको आठौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटि सदस्य हुँदै सचिवालय सदस्यको जिम्मेवारीमा रहेर काम गरिन् ।
उनको साङ्गठनिक प्रतिबद्धता, लगनशीलता आदि कारणले वि.सं. २०७९ सालमा भएको प्रदेश सभा सदस्य पदको निर्वानमा उनी डोटीबाट समानुपातिकतर्फ उम्मेदवार बनिन् । २०७९ मंसिर २४ मा एमालेले उनलाई खस आर्य महिला अन्तरगत पिछडिएको क्षेत्र कोटामा सुदूरपश्चिम प्रदेश सभा सदस्य बनाउने निर्णय गर्यो ।
यसका साथै तत्कालिन अवस्थामा सुदूरपश्चिम प्रदेश सभामा एमाले प्रमूख प्रतिपक्षी दलको भूमिकामा रहँदा एमाले नेता एवं प्रदेश सभा सदस्य सुरेन्द्र पालले सचेतक र निर्मला साउँद उप–सचेतकको जिम्मेवारी समेत बहन गरिन् । त्यस्तै २०८० असोजमा सम्पन्न एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनबाट उनि प्रदेश कमिटि सदस्यमा सर्वसम्मत चयन हुन पुगिन् ।
सोमबार भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त हुँदासम्म सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास समिति सदस्य समेतको उनलाई जिम्मेवारी छ ।
उनका श्रीमान, २ छोरा, २ छोरी गरी ६ सदस्यीय परिवार रहेको छ । – (राज्यमन्त्री साउँदसङ्ग गरिएको कुराकानीको सार संक्षेप)






























