छहरा झरना प्रवेश गर्न शुल्क तोकियो, उठेको सबै रकम त्यहींको विकासमा खर्च गरिने

Image
Nisarga Hospital

डोटी: डोटीको जोरायल गाउँपालिका २ मा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र छहरा झरनामा प्रवेश शुल्क लगाइने भएको छ ।
जोरायल गाउँपालिका वडा नं. २ को कार्यालयले हिजो सोमबार एक सूचना जारी गर्दै निर्धारित शुल्क सहितको जानकारी सार्वजनिक गरेको छ ।

CP Hospital Dhangadhi

वडा कार्यालयले वडा समितिको श्रावण २१ गतेको निर्णय सार्वजनिक गर्दै प्रसिद्ध छहरा झरनाको विकासका लागि राजश्व संकलन गरी सोही क्षेत्रमा खर्च गर्ने गरी आन्तरिक र बाह्य पर्यटकहरुबाट प्रवेश शुल्क र पार्किङ्ग शुल्क उठाइने जनाईएको छ ।
जस अनुसार आन्तरिक पर्यटकका लागि रु. २०, बाह्य पर्यटकका लागि रु. ५० र विद्यार्थीको हकमा रु. १० प्रति व्यक्ति प्रवेश शुल्क लगाईएको छ ।

यस्तै सवारी साधन प्रवेश तथा पार्किङ्ग शुल्कका रुपमा बाइकको लागि रु. २०, जिप, भ्यान, कारका लागि रु. ५० र बस तथा ठूला सवारी साधनको हकमा रु. १०० तोकिएको छ ।
उक्त राजश्व शुल्क संकलनका लागि वडा कार्यालयबाट जनशक्ति खटाइने जोरायल गाउँपालिका २ का वडा अध्यक्ष बिर बहादुर दर्लामीले नजर अनलाइलाई बताए ।

nawajiwan

वडा अध्यक्ष दर्लामीले भने–‘छहरा झरना हाम्रो सार्वजनिक साझा सम्पत्ती हो । अँझ त्यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय दृष्टिले झनै महत्वपूर्ण छ । जसको संरक्षण, संवद्र्धनका लागि सानो सानो सहयोग जुटाउन भए पनि हामीले वडा कार्यालयबाट राजश्व संकलन गर्ने र सोही क्षेत्रमा विकासमा लगानी गर्ने निर्णय गरेका छौं ।’
छहरा झरनाको छेवैमा घण्टेश्वर देवताको मन्दिर समेत रहेको छ । यो क्षेत्र देवता स्नान गर्ने, ब्रतवन्ध, विवाह जस्ता शुभ कार्य गर्ने धार्मिक पवित्र स्थल पनि हो । धार्मिक आस्थाका आधारमा डोटी, कैलालाी, कञ्चनपुर र भारतका तिर्थालु समेत यस क्षेत्रमा पुग्ने गरेका छन् । यस्ता धार्मिक कार्यका लागि शुल्क नलाग्ने पनि वडा अध्यक्ष दर्लामीले जानकारी दिएका छन् ।

पर्यटकको सुविधा, झरनाको सौन्दर्यता, धार्मिक महत्व जोगाइराख्नका लागि झरना क्षेत्रमा जथाभावी फोहोर गर्ने, धार्मिक रित विपरित कार्य गर्ने गतिविधी निरुत्साहित गर्न स्थानीय सरकारको तर्फबाट निगरानी बढाईएको उनले बताए ।
जोरायल गाउँपालिका र वडा नं. २ को कार्यालयले सो झरनाको विकासका लागि विशेष जोड दिएर लागेको उनले बताए । क्रमिक ढङ्गले सो क्षेत्रमा पूर्वाधार विकास भैरहेको र थप पूर्वाधार निर्माण गरिने उनले बताए ।

Attariya Hospital

उक्त झरना क्षेत्रमा जानका लागि भीमदत्त राजमार्ग अन्तरगत डोटीको बुडरदेखि जोरायल जाने सडक हुँदै झरना पुग्दा करिब ७ किलोमिटर दुरी रहेको छ । झरनासम्मै सडक पहुँच रहेको छ भने सडक पिच गर्ने कार्य भैरहेको छ । त्यस्तै पैदल क्षेत्रमा स्लेट बिछ्याउने कार्य पनि भैरहेको छ । पहिले फोन तथा नेट सुविधा नभए पनि अहिले फोर जि सुविधा सहित टावर जडान भई सेवा सुचारु भैसकेको छ ।
त्यस्तै अस्लार प्रविधिको सिंढी निर्माण, सेल्फी पुल, शौचालय लगाएतका पूर्वाधार निर्माण गरिएका छन् ।

वडाले शुल्क निर्धारण गरेसँगै सामाजिक सञ्जालमा विभिन्न खालका विरोधपूर्ण टिप्पणी आएका छन् त भन्ने विषयमा वडा अध्यक्ष दर्लामीले वास्तविकता नबुझी फेसबुकमा विरोध गर्ने विकास विरोधीहरु हुन्छन् भन्दै प्रतिक्रिया दिए । राम्रो प्रयास गर्दा सहयोग, सुझाव, सल्लाह दिन उनले सबैलाई आग्रह पनि गरेका छन् ।
यतिञ्जेलसम्म झरनाको विकास, प्रचारप्रसार, प्रवद्र्धनमा सहयोग गर्ने सबैलाई वडा अध्यक्ष दर्लामीले धन्यवाद पनि दिएका छन् ।पर्यटकको आकर्षण बन्दै डोटीको छहरा झरना |

छहरा झरनाको परापूर्वकाल देखि नै विशेष महत्व बोकेका भए पनि पछिल्लो समयमा कोरोना हराउँदै गएपश्चात मानिसहरु आवतजावत बढेसँगै यसको अझ बढी प्रचारप्रसार भएको हो ।
उक्त समयमा दिनहुँ करिब एक हजारभन्दा बढी बाह्य पर्यटक मात्रै आउने गरेका थिए । एक दिन त करिब ८ हजार पर्यटक र एक हजार बढी सवारी साधन आएको स्थानीय बताउँछन् ।

विशेष गरी सञ्चारमाध्यम, सामाजिक सञ्जाल फेसबुक, टिकटक आदिका कारण छहरा झरना अँझ बढी चर्चामा आएको थियो ।
अहिले पनि दिनहुँ सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।