
डोटी: वि.सं. २०३९ सालमा डोटीमा स्थापना भएको हुलाक निर्देशनालय पनि डोटीबाट कैलाली सारिने भएको छ ।
संघीय संरचनामा सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली तोकिएसँगै डोटीका विभिन्न सरकारी संरचनाहरु एकपछि अर्को गरी सार्ने क्रममा हुलाक निर्देशनालय पनि सार्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

हुलाक सेवा विभागले हुलाक निर्देशनालयलाई मिति २०८१ साउन १ गते ‘पूर्व तयारी सम्बन्धमा’ विषयको पत्र पठाएको छ । जसमा जनशक्तिको व्यवस्थापन र परिचालनका विषयमा विस्तृतमा उल्लेख गरिएको छ । यसका साथै विभागले मिति २०८१ असार ३१ गते ‘हुलाक कार्यालयको नाम, लेटरहेड, साइनबोर्ड, छाप, स्थान तथा खारेज हुने कार्यालयको सम्पत्ति व्यवस्थापन सम्बन्धमा समेत पत्राचार गरिसकेको प्रमाण नजर अनलाइनलाई प्राप्त भएको छ ।
यस विषयमा हुलाक निर्देशनालय राजपुर डोटीका निमित्त हुलाक निर्देशक सुरत बहादुर परियारसँग बुझ्दा निर्देशनालय डोटीबाट कैलाली सार्ने तयारी करिब अन्तिम चरणमा पुगेको बताए । उनले भने–“नेपालमा संघीय शासन प्रणाली लागू भैसकेपछि हुलाक सेवालाई पनि सोहि अनुरुप संचालन गर्न हुलाक सेवा विभागले ७ वटै प्रदेशमा निर्देशनालय, ७७ जिल्लामा जिल्ला हुलाक कार्यालय र प्रत्येक स्थानीय तहमा एउटा हुलाक स्थापना गर्ने गरी कर्मचारि व्यवस्थापन सर्वेक्षण (O&M) गरेको थियो । उक्त सर्वेक्षण अनुसार नेपाल सरकार मन्त्रिपरिषदले २०८० माघ २५ गते हुलाक सेवा विभागको संगठन संचरना र दरबन्दी तेरिज स्वीकृत गरेको र हाल निजामती किताबखानामा पद दर्ताको क्रममा रहेको छ ।”


यसै प्रक्रियाका आधारमा हाल डोटीमा रहेको हुलाक निर्देशनालय दिपायल, जिल्ला हुलाक कार्यालय, डोटी कायम हुने र कैलाली जिल्ला हुलाक कार्यालयमा हुलाक निर्देशनालय, कैलाली कायम हुने तयारी अन्तिम चरणमा रहेको निमित्त निर्देशक परियारले बताए ।
हुलाक निर्देशनालय सारिने भएसँगै राजपुर स्थित भवनमा जिल्ला हुलाक कार्यालय, डोटी कायम हुने र निर्देशनालय छँदाका जिल्लाभरी रहेका ११७ वटा दरबन्दी घटेर ५५ वटा मात्र बाँकी रहने अवस्था आएको उनले बताए ।
































