
धनगढी: धनगढी-६ स्थित राइजिङ स्टार इङ्लिस स्कुलले आज मंगलबार दशैं उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ। दशैं उत्सवको सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले समुदघाटन गरे।
सो अवसरमा बोल्दै उपकुलपति जोशीले राइजिङ स्टारले गुणस्तरीय पढाइका साथसाथै रचनात्मक कृयाकलाप गरिरहेकोमा प्रशंसा ब्यक्त गरे। उनले उपस्थित अभिभावकहरूलाई बडादशै तथा तिहारको शुभकामना दिदै आफ्ना नानी बाबुहरूको अध्ययन र चाहनामाथि ध्यान दिन आग्रह गरे। विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले देशको अवस्था चिन्ताजनक भइरहेको र युवाहरू सबै विदेशिन लागेको डरलाग्दो वर्तमान अवस्थामा राइजिङ स्टारले गुणस्तरीय र जीवनोपयोगी शिक्षामा जोडदिएको बताए।
कार्यक्रममा वरिष्ठ लोकगायक नरेन्द्रराज रेग्मी लगायतका कलाकारहरूले प्रतिभा प्रस्तुत गरे। कार्यक्रममा विद्यार्थीहरूबाट लोकसंस्कृति झल्किने बिबिध नृत्य तथा गायन प्रस्तुत गरिए। समारोहमा शिक्षक, अभिभावक, विद्यार्थी, पत्रकार तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।



































