
बझाङ :- केदारस्यूँ गाउँपालिकाको एउटा स्वास्थ्य केन्द्रमा सिआर मेसिन जडान भएको छ।
गाउँपालिकाको मुख्य केन्द्र देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक सिआर (कम्प्युटेड रेडियोग्राफी) मेसिन जडान भएको हो । यो आधुनिक प्रविधिले स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्य केन्द्रमा यो मेसिन जडान भएसँगै एक्स-रे सेवाहरू थप छिटो, सहज र गुणस्तरीय हुने भएको छ। अब रोगीहरूले डिजिटल एक्स-रे रिपोर्ट तुरुन्तै प्राप्त गर्न सक्नेछन्, जसले समयको बचत र उपचारमा सहजता ल्याउनेछ।
यस मेसिनको जडानसँगै स्थानीय जनताले अब:गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्।

एक्स-रे रिपोर्ट डिजिटल स्वरूपमा सुरक्षित राख्न र आवश्यकता अनुसार अन्य अस्पतालसँग सेयर गर्न सक्नेछन्।
उक्त सिआर मेसिनको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । स्वास्थ्य केन्द्र सञ्चालक समिति अध्यक्ष तथा वडाध्यक्ष बिरबहादुर भण्डारीको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको प्रमुख आतिथ्यततामा मेसिनको उद्घाटन गरिको रायल प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी कमल मल्लले सुदूर खबरलाई जानकारी दिए ।


उनका अनुसार उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मनिषा धामी , पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ केन्द्र प्रमुख डाक्टर रोहित कुमार गिरी रहनु भएको थियोे । त्यस्तै कार्यक्रममा अन्य अतिथिमा स्वास्थ्य केन्द्र सञ्चालक समिति सदस्य जीवन कुमार भण्डारी, चन्द्रकला देवी दमाई लगायत रहेका थिए ।
स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गिरीको विशेष पहलमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएको हो ।
सिआर मेसिनको जडानसँगै यस क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा सुधार आउने विश्वास गरिएको छ। यो पहलले ग्रामिण क्षेत्रमा आधुनिक स्वास्थ्य सेवा पुर्याउने अभियानमा उदाहरणीय योगदान पुर्याउनेछ।
रायल प्राथमिक स्वास्थ्य केन्द्रबाट केदारस्यूँ गाउँपालिका भित्रका नागरिकले मात्र नभइ छिमेकी पालिका थलारा, बित्थडचिर, बुङ्गल, दुर्गाथलि, तथा छिमेकी जिल्ला डोटी र बैतडीका नागरिकले समेत स्वास्थ्य सेवा लिँदै आएका छन् ।






























