
डडेल्धुरा अस्पतालले हेमोडायलाइसिस सेवाको सफल परीक्षण गरेको छ। अमरगढी नगरपालिका–४ का ५४ वर्षीय राजेन्द्रविक्रम भण्डारीमाथि सोमबार पहिलो पटक सफल डायलाइसिस गरिएको हो।

डडेल्धुरा अस्पतालले दुई वर्षअघि स्वास्थ्य विभागबाट पाँचवटा हेमोडायलाइसिस उपकरण प्राप्त गरे पनि पर्याप्त पूर्वाधार र जनशक्तिको अभावले सेवा सुरु गर्न सकेको थिएन। अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाका अनुसार, यसै कारण सेवा सञ्चालनमा ढिलाइ भएको हो।
डायलाइसिसको सफल परीक्षणपछि अब यो सेवा नियमित हुने अपेक्षा गरिएको छ। अध्यक्ष ओझाले सेवा सुरु गर्नका लागि स्वास्थ्य विभागमा सूचीकृत गर्नुपर्ने बताउनुभएको छ। सूचीकृत प्रक्रिया पूरा हुन करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ।




डडेल्धुरामा हेमोडायलाइसिस सेवा सञ्चालनले मिर्गौला सम्बन्धी समस्याबाट पीडित बिरामीहरूलाई ठूलो राहत मिल्नेछ। यसले स्थानीय स्तरमै उपचार सुविधा उपलब्ध गराउँदै क्षेत्रीय स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने विश्वास गरिएको छ।


































