
डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित पर्यटकीय सम्भावना बोकेको आलिताल ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। वरिपरि हरियाली डाँडाले घेरिएको यो तालको दृश्य निकै मनमोहक छ।

एक हजार एक सय ७५ मिटर लम्बाइ र करिब ४ सय मिटर चौडाइ रहेको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पर्ने सबैभन्दा ठूलो यो ताल पर्यटकका लागि आकर्षणको केन्द्र बनेको स्थानीयले बताएका छन्। दिनहुँ यहाँ पर्यटकहरू अवलोकनका लागि आउने गरेका छन्। केही समयअघि सुनसान जस्तै रहने यो ताल अहिले दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चहलपहलले भरिएको छ।
तालका हेरालु गगनसिंह पुनमगरका अनुसार दैनिक ५० देखि ६० जना पर्यटक सुदूरपश्चिमका विभिन्न जिल्लाबाट यहाँ पुग्ने गरेका छन्। ताल क्षेत्र विभिन्न प्रजातिका चराहरूको बासस्थान पनि हो। हाल यहाँ १५० भन्दा बढी साइबेरियन आगन्तुक चराहरू देख्न सकिन्छ। लामपुच्छ्रे, न्याउला, ढुकुर लगायतका चराहरू पनि यस क्षेत्रमा पाइन्छन्। साथै, तालमा रैथाने जलेवा र जलकुखुरा जातका चराहरू समेत देख्न सकिन्छ।




ताल क्षेत्रमा पिकनिक स्थलको व्यवस्था गरिएको छ, जसका कारण धेरैजसो आन्तरिक पर्यटक यहाँ पिकनिक मनाउन आउने गरेका छन्। पिकनिकका लागि आवश्यक भाडाकुँडाको पनि व्यवस्था गरिएको पुनमगरले जानकारी दिए। ताल अवलोकन गर्नका लागि बाहिरी जिल्लाबाट समेत पर्यटक आउने क्रम बढ्दो छ।
आलिताल धार्मिक तथा सांस्कृतिक रूपमा पनि महत्वपूर्ण छ। यहाँ विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यहरू हुने गरेका छन्। आलिताल गाउँपालिकाले तालमा माछापालन कार्यक्रम पनि सञ्चालन गरेको छ। हालसम्म एक हजार ग्रास जातका तथा छ सयभन्दा बढी रहु जातका माछा तालमा पालिएको छ। यी माछा राम्ररी हुर्किसकेका छन्, जसले तालको पर्यटकीय महत्वलाई अझ बढाउने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाका अनुसार तालको थप प्रचारप्रसार गर्न सके पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुनेछ। साथै, सरकारले थप लगानी गरेमा ताल क्षेत्र अझ व्यवस्थित भई पर्यटकहरूको आकर्षण बढ्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।


































