
उद्योगीहरूले सिमेन्टको मूल्य प्रतिबोरा ४० रुपैयाँले बढाएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ओपीसी र पीपीसी दुबै प्रकारको सिमेन्टको मूल्य बढेको बताए। हाल ओपीसी सिमेन्ट ६३० देखि ८०० रुपैयाँ र पीपीसी ५९० देखि ६५० रुपैयाँसम्म पुगेको छ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले लोडसेडिङ बढेपछि उत्पादन लागत बढ्दै गएको भन्दै मूल्यवृद्धि गर्नुपरेको बताए। “१२ घण्टा बिजुली कटौतीले ठूलो नोक्सानी भएको छ,” उनले भने।

यसैबीच, सरकारले सिमेन्ट र फलामे छडको अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने निर्णय गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दहालले उद्योगीहरूले ७ दिनभित्र एमआरपी लागू गर्न सहमति जनाएको बताए। “एमआरपीले मूल्य पारदर्शी बनाउँछ, तर यसले हालको मूल्यवृद्धि रोक्दैन,” दहालले जनाए।

तर, निर्माण व्यवसायी महासंघका सिंहले एमआरपी सकारात्मक भए पनि यो “सिमेन्ट महँगो पार्ने अर्को बहाना” बनेको आरोप लगाए। उनले उत्पादन बढाउन र भारतबाट सिमेन्ट आयात गर्न दिनुपर्ने माग गरे। “नेपाली उपभोक्तालाई मात्र महँगो सिमेन्ट बेचिएको छ,” उनले भने। सरकारले एमआरपी लागू गरे पनि बजारमा मूल्य नियन्त्रण गर्ने चुनौती रहेको छ।































