हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

Image
Nisarga Hospital

हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।

CP Hospital Dhangadhi

बिहीबार बिहान हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा सम्पन्न खेलमा नेपालले कुवेतले दिएको १८६ रनको लक्ष्य ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका ओपनर कुशल भूर्तेल र आशिफ शेखले अर्धशतकीय इनिङ खेल्दै जितको आधार तयार पारे। भूर्तेलले ५० बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ८१ रन बनाए। यस्तै, शेखले ३८ बलमा २ चौका र ४ छक्का हिर्काउँदै ५३ रनको योगदान दिए।

nawajiwan

कुशल मल्ल ४ रनमा आउट भए भने दिपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३१ रनको आक्रामक इनिङ खेले।

बलिङतर्फ कुवेतका यसिन पटेलले दुई विकेट लिए भने मोहम्मद शफिक र मोहम्मद अस्लामले एक–एक विकेट लिए।

Attariya Hospital

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए। उनले ३० बलमा ४ चौका र २ छक्का प्रहार गरे।

मिट भवसरले २८ बलमा १ चौका र २ छक्का सहित ३५ रन, बिलाल तहिरले ३२ रन, रविजा सान्दरूवनले २६ तथा उसमान पटेलले १३ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भूर्तेलले १–१ विकेट लिए।

यसअघि नेपालले सिरिजको पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। नेपालले अब चैत ३० गते हङकङविरुद्ध लिग चरणको अन्तिम खेल खेल्नेछ। त्यसपछि चैत ३१ गते फाइनल तथा तेस्रो स्थानको खेल हुनेछ।