
इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३८औँ खेलमा कोलकाता नाइट राइडर्स ले लखनउ सुपर जायन्ट्स विरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। एकाना क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनायो।

टोलीको सुरुवात कमजोर रहँदा ९३ रनमै ७ विकेट गुमेको थियो। कठिन अवस्थामा रिंकू सिंह ले ५१ बलमा ८३ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई उकासे। उनले ७ चौका र ५ छक्का प्रहार गरे, जसमा अन्तिम ओभरका लगातार ४ छक्का विशेष आकर्षण बने। क्यामरन ग्रीन ले ३४ रन थपे।

लखनउका मोहसिन खान ले ५ विकेट लिएर उत्कृष्ट बलिङ प्रदर्शन गरे। खेलमा अंगकृष रघुवंशी ‘फिल्डमा अवरोध’ कारण आउट घोषित हुनु दुर्लभ घटनाका रूपमा देखियो।






























