
पछिल्लो एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०८० चैत ३० देखि २०८१ चैत ३१ सम्मको अवधिमा छापावाल सुनको मूल्य १ लाख ३९ हजार रुपैयाँबाट बढेर १ लाख ८६ हजार रुपैयाँ पुगेको हो।

सुनको मूल्य वृद्धिमा अन्तर्राष्ट्रिय बजारको प्रभाव मुख्य कारण भएको महासंघले जनाएको छ। सरोकारवालाहरूका अनुसार विश्व बजारमा सुनको दर निरन्तर उकालो लागिरहेका कारण त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो।

यद्यपि, सरकारले भन्सार दर घटाएपछि मूल्य केही हदसम्म नियन्त्रणमा रहन सकेको व्यवसायीहरूको भनाइ छ। चालु आर्थिक वर्षको प्रारम्भमा सुन र चाँदीमा २० प्रतिशत भन्सार दर तोकिएको थियो। व्यवसायीहरूको चासो र दबाबपछि मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार भन्सार दर १० प्रतिशतमा झारिएको थियो, जसको सूचना मंसिर ९ मा राजपत्रमा प्रकाशित भई मंसिर १० देखि कार्यान्वयनमा आएको थियो।

२०८१ चैत ३१ मा कायम भएको मूल्य — तोलामा १ लाख ८६ हजार रुपैयाँ — अहिलेसम्मकै उच्च रेकर्ड हो। व्यवसायीहरूका अनुसार हालको मूल्य वृद्धि दर हेर्दा सुनको भाउ आगामी दिनमा अझै बढ्न सक्ने संकेत देखिएको छ।
































